बर्दिया १ मा २ गौतमको भिडन्तः पुँजीपतिका नेता संजयभन्दा सर्वहाराका नेता बामदेब धनी



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति आउन एकाध दिन मात्रै बाँकी रहेको बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी मैदानमा छन् ।

यस्तै चुनावी अभियान बर्दियामा पनि जारी रहेको छ । पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र हालका सिंचाई मन्त्री संजय गौतम बर्दिया क्षेत्र नं १ बाट चुनावी मैदानमा छन् ।

दुई गौतमको चुनावी भिडन्तले बर्दिया जिल्लालाई राष्ट्रिय राजनीतिको महत्वपूर्ण चुनावी क्षेत्रको रुपमा परिभाषित गर्न समेत सहयोग पुर्याइएको छ ।

यस आलेखमा गौतमद्वयको उम्मेदवारी सँगसँगै उनीहरुको सम्पतिको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

वामदेव सँग कति छ सम्पत्ति ?

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम हाल भैंसेपाटी निवासमा बस्छन् । उनले भेगास सिटी बालकुमारीमा २ तल्ला किनेका छन् ।

उनको जग्गाको विवरणमा हरिसदेव गौतमको नाममा बर्दिया डेउडाकला गाविस–९ मा ३ कट्ठा र भरतपुर नगरपालिकामा १३ लाख ३३ हजार रुपैयाँ पर्ने जग्गा छ । श्रीमती तुलसा गौतमको नाममा ललितपुरको छम्पी गाविसमा सात आना दुई पैसा, तारा गौतम कुँवरको नाममा काठमाडौं सांललामा एक रोपनी जग्गा रहेको छ ।

उपप्रधानमन्त्री गौतमको सुन ३५ तोला, चाँदी १ सय तोला, हिरा १ सेट र नगद ५ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख छ ।

उनको आफ्नै नामको एभरेष्ट बैंकमा १ लाख रुपैयाँ, हरिसदेवको कुमारी बैंकमा ९६ लाख रुपैयाँ, तारा कुँवर गौतमको नाममा स्टयाण्डर्ड चाटर्ड बैंक र नबिल बैंकमा न्यूनतम रकम रहेको देखिन्छ ।

रकमको स्रोतअन्तर्गत एभरेष्ट बैंकको सभासद्को तलबबापत, कुमारी बैंकको घर बिक्रीबापत र स्टयाण्डर्ड चाटर्ड बैंकको गाडी खरिद गर्न लिएको ऋण रकम जम्मा हुने गरेको उल्लेख गरिएको छ ।

तुलसा गौतमको नाममा क्षमता विकास तथा ऋण सहकारी संस्था र तुलसी ट्रेडर्समा क्रमशः १ लाख र १० लाख रुपैयाँको सेयर नबिल बैंकको ऋणमध्येबाट भएको उल्लेख गरिएको छ ।

उनले नबिल बैंकबाट १ करोड रुपैयाँ ऋण लिएका छन् । ५० लाख रुपैयाँ तिरेको र सवारी साधनमा तारा कुवर गौतमको नाममा हुण्डाई आई २० कार २३ लाख रुपैयाँमा खरिद गरेको देखिएको छ ।

कति छ, संजयको सम्पत्ति ?

नेपाली काँग्रेसका नेता समेत रहेका सिंचाई मन्त्री सञ्जय गौतमको बर्दिया गुलरियामा बुबा किशोरकुमार गौतमको नाममा बर्दिया, काठमाडौँ र बाँकेमा जग्गा रहेको छ । काठमाडौँ महानगरपालिका वडा नं २६ मा ११ आना जग्गा रहेको छ । यस्तै अन्य स्थानमा गरी १० रोपनी बढी जग्गा देखिन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सार्वजनिक गरिएको सम्पति विवरणमा सगोलमा २२ रोपनी जग्गा देखिन्छ । गुलरिया नगरपालिका, काठमाडौँको डाँडापौवा रामकोट तथा ठाकुरबाबा नगरपालिकामा समेत उनको जग्गा देखिन्छ ।

गौतमको १० लाख नगद, ६५ तोला सुन, एक हजार तोला चाँदी र २ वटा हिराको सेट रहेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक ठमेलमा ३ लाख नगद देखिन्छ ।

किशोर गौतम, सञ्जयकुमार गौतमलगायतको नाममा ६ लाख बराबरको सेयर रहेको विवरणमा उल्लेख छ ।

सावित्री गौतमको नाममा ८५० सिसिको मलेसियन प्याराडुआ, उनकै नाममा कार एउटा, एक स्वराज ट्याक्टर र २ वटा मोटरसाइकल छ ।

उक्त निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनको पक्षमा ५४ हजार ९ सय ५ मत आएको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ७ सय ४२ मत आएको थियो । यो हिसावमा बाम गठबन्धनका गौतम २९ हजार १ सय ६३ मतले अगाडि रहेको छ ।

तर चुनावी परिदृश्य नियाल्नको लागि भने बर्दिया क्षेत्र नं १ रोमाञ्चक बनेको छ ।


पुष्प दुलाल