बुढीगण्डकी खारेजीपछि ऊर्जा मन्त्री थापाका यस्ता छन् तीन ट्वीट




काठमाडौं । चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिइएको बुढीगण्डकी जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरे लगत्तै उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले २ दिनमै तीन ट्वीट गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले चिनियाँ कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गरेको थियो । तर सरकारले आधिकारिक धारणामा भने खारेजीका विषयमा कुनै जानकारी दिइएको थिएन । तर ऊर्जा मन्त्री थापाले भने २४ घन्टामा तीन ट्वीट गरेका छन् ।

उनले हरेक ट्वीटमा संसदीय समितिको निर्देशनलाई आधार मानेर नै आयोजनाको अनुमतिपत्र खारेज गरेको भन्न छुटाएका छैनन् ।

आयोजनाको भविस्य अन्यौलमा परेको बेला सरकारले नयाँ तयारी सुरु गरेको उनले पछिल्लो टुइटमा उल्लेख गरेका छन् ।

उपप्रधान तथा ऊर्जा मन्त्री थापाले राष्ट्रिय गौरवको आयोजना संसदीय समितिको निर्देशन अनुसार बुढिगण्डकी जलविद्युत आयोजना सम्बन्धि विवादास्पद सम्झौता खारेज भएको र केही दिनमा नयाँ प्रक्रिया सुरु हुने जनाएका छन् ।

उनले पछिल्लो ट्वीटमा भनेका छन् ‘केही दिन भित्रमा नै राष्ट्रिय गौरवको यो आयोजना यथासंभव चांडो निर्माण सम्पन्न गर्नेगरि नीति, कार्यविधि र योजना सार्वजनिक गरिने छ ।’

तर मन्त्रिपरिषद्को बैठकले भने सो विषयमा निर्णय भए नभएको बारेमा कुनै जानकारी दिइएको छैन ।

ऊर्जा मन्त्रालयका अधिकारीले समेत मन्त्रिपरिषद्को निर्णयका बारेमा कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।

विवादास्पद चिनियाँ कम्पनीलाई १२०० मेगावाटको आयोजना दिइएकोमा तत्कालिन संसदीय समितिले आपत्ति मात्रै जनाएका थिएनन्, खारेजका लागि सरकारलाई निर्देशन समेत दिएका थिए ।


क्लिकमान्डु