भर्चुअल दुनियामा पनि एग्रेसिभ बन्दै एनआइसी एसिया, बचत खाता खोल्न बैंक जानु नपर्ने




काठमाडौं । एनआइसी एसिया बैंकमा नेपाल तथा विश्वको कुनै पनि स्थानबाट बचत खाता खोल्न सकिने भएको छ । बैंकले ‘एनआइसी एसिया अनलाइन बचत खाता’ संचालनमा ल्याएपछि यस्तो सम्भव भएको हो ।

ग्राहकको माग तथा चाहना बमोजिम यस्तो खाता संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकको भनाइ छ ।

अनलाइन मार्फत बचत खाता खोल्दा सुरुमा कुनै मौज्दात राख्नु पर्नेछैन । अर्थात शुन्य मौज्दातमै खाता खोल्न सकिने यस्तो खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाताखोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस्तो बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकको विश्वास छ ।

भौतिक रुपमा शाखा संजाल विस्तारमा आक्रामक ढंगले प्रस्तुत भइरहेको एनआइसी एसियाले इन्टरनेट माध्यमको प्रयोग गरी भर्चुअल दुुनियमा पनि आफ्नो बलियो उपस्थिति बनाउन लागेको छ ।

बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५भन्दा बढी पिओएस मेशिनमार्फत् उच्चस्तरीय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब ६ लाख ३० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले अनलाइन बचत खातामार्फत देश तथा विदेशमा रहेका ग्राहकलाई थप सेवा विस्तार गर्ने लक्ष्य लिएको बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु