एसिया कपमा नेपालले भारतलाई १९ रनले हरायो



काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । १ सय ८६ रनको लक्ष्य पछ्याइरहेको भारत १ सय ६६ रनमा समेटिएको हो ।

नेपालको जीतमा कप्तान दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शन रह्यो । ऐरीले १ सय १ बलमा २ छक्का र ४ चौकाको मद्दतले ८८ रन र ४ विकेट लिएका छन् ।

मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गरेको थियो । नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । नेपालको सुरुवाती २८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेनद्रले ओपनर जितेन्द्रसिंह ठकुरीसँग मिलेर पारी समालेका थिए ।

नेपालका लागि जितेन्द्र सिंहले ३६ र भीम सार्कीले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरुले दोहोरो रन बनाउन सकेका थिएनन् ।


पुष्प दुलाल