दूरसञ्चार प्राधिकरणले अब कागजमा काम नगर्ने, अटोमेसनको परीक्षण धमाधम, ५५ लाख खर्च



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अटोमेसनको प्रणालीमा जानका लागि सफ्टवेयर परिक्षण गरिरहेको छ ।

कार्यालयका सम्पूर्ण कामकारबाही तथा कागजपत्रलाई डिजिटलाइज गर्न सफ्टवेयर परिक्षण थालिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘प्राधिकरणलाई आधुनिक कार्यालयमा रुपान्तरण गर्न अटोमेसन गर्ने प्रयास स्वरुप विभिन्न किसिमका सफ्टवेयरहरु परिक्षण भईरहेको छ,’ अर्यालले क्लिकमाण्डूसँग भने ।

अर्यालकाअनुसार हाल एकाउन्ट, ह्यूमन रिसोर्स, इन्भेन्टरी टाइप अप्रुभललगायतका ७ वटा सफ्वेयर मोडेलको सफ्टवेयर परिक्षण भइरहेको छ ।

प्राधिकरणले आफूले गर्ने सबै कामकारबाहीहरु तथा कागतपत्रहरुलाई सुरक्षित बनाउन सर्ट कोड, आइएसपीको डाटाबेस, लाइसेन्स, स्पेक्ट्रमलगायत विभिन्न ११ वटा शिर्षकमा सफ्टवेयर निर्माणको लागि सफ्टटेक इन्फोसिसलाई टेण्डरमार्फत जिम्मा दिएको थियो । प्राधिकरणले सो कम्पनीसँग गत वर्ष असारमा सम्झौता गरेको थियो ।

‘सबै सफ्टवेयर संचालनमा आएपछि पेपरलेस अफिसको अवधारणमा जानेछौं, यसले सेवाग्राहीलाई छिटो सेवा दिन सकिन्छ,’ उनले भने ।

करिब ५५ लाख रुपैयाँ बजेटमा कम्पनीले प्राधिकरणले तोकेको आधारमा ११ वटा अटोमेसन सफ्टवेयर प्रणाली जडान गर्ने बताइएको छ । अफिस अटोमेसनको सम्पूर्ण सफ्टवेयरहरु यहि पुस महिनासम्ममा जडान भईसक्ने प्राधिरकणले जानकारी दियो ।


पुष्प दुलाल