हिमालय एअरलाइन्सले पायो दक्षिण एशियाली ट्राभल अवार्ड



काठमाडौं । हिमालय एअरलाइन्सले माल्दिभ्सको इक्वेटर भिलेज, अद्दु सिटीमा अक्टोबर २८ मा आयोजित दक्षिण एशियाली ट्राभल अवार्ड (साटा), २०१७ मा लिडिङ्ग न्यू इन्टरनेशनल एयरलाइन्स भिजिटर्स च्वाइस गोल्ड अवार्ड प्राप्त गरेको छ ।

दक्षिण एशियाली ट्राभल अवार्ड (साटा) द्धारा आयोजित सो महोत्सवमा गान अन्तर्राष्ट्रिय विमानस्थलकी महाप्रबन्धक इब्थीसमा अहमीद सइदले हिमालय एअरलाइन्सको ब्रान्ड तथा सेवा विभागकी प्रमुख उज्ज्वला दलीलाई अवार्ड प्रदान गरिन् ।

साटा दक्षिण एशियाका विभिन्न राष्ट्रका पर्यटन संगठनहरुद्धारा अनुवन्धित क्षेत्रीय स्तरको पहिलो अवार्ड हो । यसले यस क्षेत्रको सेवाको स्तर अभिवृद्धि गराउने लक्ष्य राखेको छ ।

सो अवार्ड छनोटका लागि अनलाइन भोटिङ्गको प्रक्रिया अपनाइएको थियो । भोटिङ्गको प्रक्रिया ३१ मे, २०१७ देखि ३१ अगस्ट सम्म अनलाइनमार्फत् खुल्ला राखिएको थियो । आवेदनमा हुने अनियमिततालाई न्युनीकरण गर्न प्रत्येक भोटरले भोट गर्नुअघि व्यक्तिगत विवरण दर्ता गर्ने नियम रहेको थियो ।

यसअघि ३० अगस्ट, २०१७ मा एअरलाइन्सको टिमले अवार्ड कमिटिका निर्णायक टिम समक्ष एअरलाइन्सको सेवा, व्यवस्थापन, हवाई सुरक्षा आदि पक्ष समेटी प्रस्तुतिकरण तथा छलफल गरेको थियो ।

अवार्डले एअरलाइन्सलाई अझ धेरै ग्राहकहरुको रोजाई बनाउनका लागि अझ सशक्त रुपमा लाग्न हौसला दिएको एअरलाइन्सको ब्रान्ड तथा सेवा विभागकी प्रमुख उज्ज्वला दलीले बताईन् ।


क्लिकमान्डु