कुलमानको निर्देशनपछि तामाकोशीको निर्माणले गति लियो, १० दिनमा सुरुङको ब्रेक थ्रु



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न ५८ मिटर मात्रै बाँकी रहेको छ । कुल ८.५ किलोमिटर लामो सुरुङमध्ये ५८ मिटरमात्रै खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

अधिकांश जलविद्युत् आयोजनको आयोजना प्रमुख कार्यस्थलमा नबस्दा भौतिक निर्माणले गति लिन नसकिरहेको बेला तामाकोशी आयोजनाका प्रमुख विज्ञान श्रेष्ठ नियमित रुपमा आयोजना स्थलमा नै बसेर रेखदेख गरेपछि आयोजनाले गुणात्मक रुपमा फड्को मारेको हो ।

बाँकी रहेको सुरुङ खन्न अब बढीमा दश दिन मात्रै लाग्ने छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएपछि आयोजनाको भौतिक निर्माणको प्रगति करिब ९५ प्रतिशतको हाराहारीमा पुग्नेछ ।

सहायक तथा अन्य अडिट सुरुङको कूल लम्बाई १८.२ किलोमिटर रहेको छ । ती सुरुङ निर्माणको काम यसअघि नै सकिइसकेको छ ।

आयोजनालाई आगामी असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । असारमा पहिलो युनिट सञ्चालनमा ल्याउने गरी तयारी भएको छ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनामा स्वदेशी लगानी रहेको छ ।

हाल आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

असोजको पहिलो साता अप्ठ्यारो मानिएको भर्टिकल सार्फ टनेल ब्रेक थू्र गरेको आयोजनाले सुरुङको काम सक्ने वित्तिकै बाँधको काम पनि सम्पन्न हुने जनाएको छ ।
नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक दिन आयोजनाको कार्यप्रगतिको बारेमा जानकारी लिने गरेका छन् ।

कुनै समस्या आइ लागे आयोजना स्थलमा नै समाधान गर्न र कुनै दिन पनि काम रोकिने अवस्था आउन नदिन निर्देशन दिएका छन् ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठलाई आयोजना स्थल नछाड्न कुलमानले निर्देशन दिएको, आयोजना स्थलमा नै बोर्ड बैठक राखेको र ठेकेदार परिचालन व्यवस्थित बनाएका कारण आयोजनाले गति लिएको हो ।


पुष्प दुलाल