देउवासँग २ चोटी हार्दा ३ करोड ऋण बोकेका भट्टले ऋण थप्लान् कि चुनाब जित्लान् ?




काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन एक महिना मात्रै बाँकी रहेको छ । देशव्यापी रुपमा चुनावको माहोलले छोपिरहेको बेला प्रधानमन्त्रीको चुनावी क्षेत्र समेत रहेको डडेल्धुरामा समेत चुनावी गतिविधिले तिव्रता पाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन लड्न पूर्वपरिचित प्रतिस्पर्धी खगराज भट्ट नै मैदानमा छन् । चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चुनावी चहल पहल बढेको छ ।

लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जितेका प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटकका लागि चुनाव लडिरहेका छन् ।

डडेलधुरामा स्थानीय तहको चुनावको मत परिणामलाई आधार मान्ने हो भने कांग्रेस सभापति शेरबहादुर देउवालाई अबको चुनावमा सांसद चुनिन कठिन हुनसक्छ । स्थानीय चुनावमा कांग्रेस ७ मध्ये ४, एमाले २ र माओवादी १ स्थानीय तहमा विजयी भएका छन् ।

देउवा ७० सालको संविधानसभा चुनावमा २३ हजार ९ सय २० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले १२ हजार ४ सय ९३ र एमालेका डाक्टर ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत ल्याएका थिए । डडेलधुरामा देउवासँग लगातार तेश्रो पटक भट्ट चुनाव लड्दै छन् । र, यो पटक उनलाई एमालेको पनि मत जाने छ ।

माओवादी ससस्त्र बिद्रोहदेखि नै राजनीतिमा प्रवेश गरेका भट्ट यसपालि प्रधानमन्त्री देउवाको प्रभावक्षेत्र मानिएको डडेल्धुरामा आफ्नो जित निश्चित रहेको बताउछन् ।

डडेल्धुरामा स्थानीय तह चुनावको मतलाई आधार मान्ने हो बाम गठबन्धनको मत काँग्रेसको भन्दा आठ हजार वढी छ । स्थानीय तह चुनावमा डडेल्धुरामा काँग्रेसले १९ हजार पाँच सय २३ मत प्राप्त गरेको थियो । यस्तै एमालेले १६ हजार नौ सय १५ मत र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत प्राप्त गरेका थिए ।

२०६४ र २०७० सालको संविधानसभा चुनावमा माओवादीका खगराज भट्टलाई हराएका देउवा यसपटक पनि उनैसँग भिड्दै छन् । तर, २०७० मा भने देउवाको मत २० हजारबाट बढेर करिब २४ हजार पुगेको थियो भने भट्टको मत निकै घटेर १२ हजार मा सिमिति बनेको थियो ।

डडेल्धुरामा एमाले र माओवादी केन्द्रको मत जोड्दा २७ हजार ८ सय ६० हुन्छ जुन काँग्रेसको भन्दा ८ हजार बढी छ । अब देउवाका लागि गठबन्धनको मत तान्नु मुख्य चुनौतिको रुपमा रहेको छ ।

कति छ देउवाको सम्पत्ति
चार पटक मुलुकको कार्यकारी प्रमुख भएका देउवाको तत्कालीन असीग्राम गाविसमा ३५ रोपनी जग्गा छ । पिता प्रसादसिंह देउवाको नाममा रहेको सो जग्गा पैत्रिक सम्पत्तिको रुपमा प्राप्त भएको हो । प्रधानमन्त्री भएपछि उनले सार्वजनिक गरेको विवरणअनुसार असीग्राममा रहेको ३ तल्ले घर द्वन्द्वको समयमा माओवादीले ध्वस्त पारेका थिए ।

यस्तै पिता प्रसादसिंह देउवाको नाममा नै डडेल्धुरा असीग्रामा २१ रोपनी र दाजुभाइको सगोलामा कञ्चनपुरमा १० विगाहा जग्गा छ । प्रधानमन्त्री देउवाको नाममा असर्फी १० थान, सिक्री दुई थान, ब्रेसलेट ५ तोला, औठी ४ वटा रहेको छ । हिरा, पन्ना, रुबी र मुगाको औठी स्वआर्जनको रुपमा उनले विवरणमा उल्लेख गरेका छन् । अरु सबै विवाहमा प्राप्त गरेको विवरणमा उल्लेख छ ।

एभरेष्ट बैंकमा सभासद्को पारिश्रमिकको रुपमा १६ लाख ५० हजार ७३९ रुपैयाँ रकम रहेको उनले देखाएका छन् । देउवाले सेयरमा लगानी गरेका छैनन् ।

भट्टको सम्पत्ति कति छ ?
उनीसँग प्रतिस्पर्धामा रहेका भट्टको भने डडेल्धुरामा १० रोपनी खेत र १३ रोपनी पाखो बारी रहेको छ । तीन तोला सुन र चार बाख्रा र एउटा भैसी पनि भट्टको सम्पत्तिको रुपमा रहेको छ ।

२०६४ र २०७० को निर्वाचन लड्दा ३ करोड ऋण लागेको बताउने भट्ट यस पटक भने आफूले चुनाव जित्ने र आफूलाई प्राप्त हुने पारिश्रमिक डडेल्धुराका लागि खर्च गर्ने बताउँछन् ।

उनले यसअघि देउवासँग चुनाब लड्दा आफूलाई ठूलो मात्रामा आर्थिक नोक्सानी भएको गुनासो गरेपछि एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक ब्यवस्थापन गर्ने आवश्वासन दिएर उनलाई साझा उम्मेदवारका रुपमा उठाइएको हो ।


क्लिकमान्डु