आफ्नै सचिबालयको गल्तीले पूर्वराष्ट्रपतिको बेइज्जत




काठमाडौं । सचिबालय गल्ती गरेका कारण पूर्वराष्ट्रपति डा. रामबरण यादबको सार्बजनिक बेइज्जत भएको तथ्य खुलेको छ । डा. यादब बस्तै आएको घरको भाडा नतिरेकोभन्दै धनीले सार्बजनिक सुचना प्रकाशित गरेर १५ दिनभित्रमा घर खाली गर्न भनेका थिए ।

पूर्वराष्ट्रपतिको सचिबालयले असहयोग गरेका कारण उनले यस्तो बेइज्जति सहनु परेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।

गत माघतिर मन्त्रिपरिषदले पूर्वराष्ट्रपतिलाई आफ्नो घर भए मर्मत सम्भारको लागि मासिक १ लाख रुपैयाँ र घर नभएर भाडा वापत मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले यस्तो निर्णय गरेको र डा. यादबको काठमाडौंमा बस्न घर भए नभएको जानकारी आफूहरुलाई नभएको प्रष्ट विवरण पठाउन भनिए पनि कुनै जानकारी नआएको चुडालको भनाइ छ ।

‘उहाँको काठमाडौंमा घर भए घर मर्मत सम्भारको लागि मासिक १ लाख रुपैयाँ र नभए भाडामा लिनको लागि मासिक २ लाख रुपैयाँ दिने मन्त्रिपरिषदको निर्णय छ, हामीले उहाँसँग घर छ कि छैन भनेर २ महिना अगाडि नै पत्र पठाएका थियौं, त्यो पत्रको जवाफ आएको पनि छैन र उहाँले पाउने यस्तो रकम लिनु भएको पनि छैन,’ प्रवक्ता चुडालले क्लिकमाण्डूसँग भने ।

घरधनीले निकालेको १५ दिने सुचना

पूर्वराष्ट्रपति डा. यादबलाई घर खोजेर राख्ने मन्त्रिपरिषदे निर्णय यसअघि गरेको थियो । सोही निर्णयको आधारमा राष्ट्रपति कार्यालयले उनलाई घर खोजेर राखेको थियो । सो घरको गत असारसम्मको घरभाडा तिरिएपनि थियो । तर, गत माघतिर मन्त्रिपरिषदले घर खोजेर नदिने, आफ्नै घर भए भाडा वापत मासिक २ लाख रुपैयाँ र घर भए मर्मतको लागि मासिक १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । डा. यादबले अहिले प्रयोग गर्दै आएको घरको असारसम्मको भाडा तिरिसकिएको भएपनि त्यसयताको भाडाको लागि पैसा लिन कोही नआएको राष्ट्रपति कार्यालयको भनाइ छ ।

राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति डा. यादबलाई सरकारले उपलब्ध गराउने सुबिधा दिइरहेको छ । उनलाई सवारीसाधन र एक जना उपसचिब स्तरको स्वकीय सचिबको तलबभत्ता दिइएको छ । अन्य प्रकारका सबै सुबिधा पूर्वराष्ट्रपतिले बुझे पनि घर भाडा रकम नबुझेको र सकैलाई दिनु पनि नभनेकोले आफूहरुलाई पनि अप्ठेरो भएको राष्ट्रपति कार्यालयको भनाइ छ ।

‘उहाँको घर छ कि छैन भनेर पठाएको पत्रको पनि जवाफ आएको छैन, घर छ भने मासिक १ लाख र छैन भने मासिक २ लाख दिनुपर्ने हो, यो रकम फलानो मान्छे वा संस्थालाई दिनु पनि भन्नु भएको छैन, यो बैंक खातामा हालिदिनु पनि भन्नु भएको छैन, उहाँको सचिबालयले घर भए नभएको प्रष्ट पारेर फलानो ब्यक्तिलाई भुक्तानी दिने गर्नु भने पनि दिन्छौं, यो बैंक खातामा हालिदिनु भने पनि हालिदिन्छौं, उहाँलाई यस्तो बिबादमा तान्न हामी चाहदैनौं,’ प्रवक्ता चुडालले भने ।

पूर्वराष्ट्रपति डा. यादबका स्वकीय सचिब किरण पन्थीले राष्ट्रपति कार्यालयबाट पत्र आएको स्वीकार गरे ।

‘राष्ट्रपति कार्यालयबाट घर छ कि छैन भनेर पत्र आएको थियो, अहिले उठेका सबै विषयमा कुरा गर्न आज (कात्तिक २२ गते) म राष्ट्रपति कार्यालय जाँदैछु, त्यसपछि सबै कुरा थाहा हुन्छ,’ स्वकीय सचिब पन्थीले क्लिकमाण्डूसँग भने ।

पूर्वराष्ट्रपति डा. यादबको घरभाडा सम्बन्धि विवाद भएको बिषयमा अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख केबल भण्डारीले पनि असन्तुष्टि जनाएका छन् । उनले आजै सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै डा. यादबको सचिबालयले नियम अनुसार भुक्तानी लिनुपर्ने उल्लेख गरेका छन् ।


क्लिकमान्डु