विद्युत् मिटर लिन घुस मागेको भन्दै अख्तियारमा दैनिक एक दर्जन उजुरी




काठमाडौं । कृषि मिटर जडान गर्ने क्रममा घुस माग्ने नेपाल विद्युत् प्राधिकरण नेपालगंज बितरण केन्द्र, बाँकेका ईलेक्ट्रिसियन जयराज न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसनधान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सामान्य प्रक्रियाबाटै मिटर जडान गर्न सकनिे भएपनि न्यौपानेले सेवाग्राहीसँग ९ हजार घुस मागेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारी इमान्दार भएको, कार्यशैली फेरिएको भन्दै राजधानीमा बसेर भाषण गर्दै हिडेपनि उनका कर्मचारी भने देशव्यापी रुपमा नै सेवाग्राहीसँग घुस माग्ने गरेको यो पछिल्लो उदाहरण हो ।

विशेष गरी तराई मधेशका जिल्लामा एउटा सामान्य मिटर पाउनका लागि पनि प्राधिकरणका कर्मचारीले ३० हजारसम्म घुस लिने गरेका छन् । बारा, पर्सा र रौतहटका ग्रामीण क्षेत्रका नागरिकले मिटर पाउन कर्मचारीलाई घुस बुझाउनुपर्ने वाध्यता छ ।

अख्तियारमा पछिल्लो समयमा मिटर लिन खोज्दा घुस मागेको भन्दै दैनिक एक दर्जनको हाराहारीमा उजुरी आउने गरेको छ । त्यस्तो उजुरी केलाउने र कारवाही गर्ने प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

विशेष गरी तराई मधेशका जिल्लामा एउटा सामान्य मिटर पाउनका लागि पनि प्राधिकरणका कर्मचारीले ३० हजारसम्म घुस लिने गरेका छन् ।

सामान्य मिटर जडान देखि पानी तान्ने पम्प जडानका लागि समेत प्राधिकरणका कर्मचारीले घुस माग्ने गरेका छन् । आवेदन दिएको सात दिन भित्र मिटर दिनुपर्ने प्रावधान रहेको छ ।

सरकारले सेवाग्राहीलाई सहज रुपमा मिटर पाए नपाएको जानकारी दिन ११५१ नम्बरको हटलाइन सञ्चालनमा ल्यायो । तर ऊर्जा मन्त्री फेरिएपछि उक्त हटलाइन अलपत्र परेको छ ।

ऊर्जा मन्त्रालयको भुइतलामा स्थापना गरिएको उक्त हटलाइन नयाँ मन्त्रीका रुपमा कमल थापा आएपछि सधै जसो बन्द हुने गरेको छ ।
तर स्थानीय स्तरमा सामान्य मिटर लिन पनि नागरिक घुस खुवाउनुपर्ने, भनसुन गर्नुपर्ने वाध्यता अझै हट्न सकेको छैन । अख्तियारमा नै दैनिक एक दर्जनको हाराहारीमा उजुरी आउनुले प्राधिकरणका कर्मचारीले दुःख दिएको र सा्ेझै घुस माग्ने गरेको अनुमान गर्न सकिन्छ ।

आयोग प्रवक्ता जीवराज पोखरेलले प्राकिरण, मालपोत, नापी तथा सेवाग्राहीको बढी भीड हुने स्थानमा घुस माग्ने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति उजुरीको आधारमा देखिएको बताउँछन् ।

प्राधिकरणका जिल्ला कार्यालयमा समेत त्यस्तो समस्या बढी रहेको छ । राजधानीकै बालाजु, महाराजगन्ज, कुलेश्वर जस्ता स्थानमा बढी मिटर माग हुने गरेको छ । ती स्थानमा समेत सेवाग्रहीले मिटर प्राप्तिका लागि कर्मचारीलाई खुसी बनाउनुपर्ने अवस्था रहेको छ ।

देश निर्वाचनमा होमिएको समयमा कर्मचारीले मौका छोपेर सेवाग्राहीसँग घुस माग्ने, काम नगर्ने, तथा सहज रुपमा हुने कामलाई समेत पर सार्ने गरेको पाइएको छ ।

सेवाग्राहीसँग घुस मागे सोझे अख्तियारलाई सम्पर्क गर्न आग्रह गरिएको छ । नेपालगन्ज वितरण केन्द्रका कर्मचारीले कृषि बिद्युत मिटर जडान गर्ने प्रयोजनका लागि ९ हजार नै घुस माग्नु त्यसैको उदाहरण हो ।


क्लिकमान्डु