काठमाडौं महानगरले भन्यो- सरकारले स्थानीय तहलाई काम गर्न दिनुपर्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनिराम शर्माले स्थानीय तहका कार्य जनप्रतिनिधिलाई गर्न दिनुपर्ने बताएका छन् ।

शर्माले मंगलवार पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल सरकारले जनप्रतिनिधिलाई काम गर्न दिनुपर्ने बताएका हुन् ।

‘सरकारले स्थानीय काम हामीलाई हस्तान्तरण गर्नुपर्यो, बजेट पनि दिनुपर्यो र कामगर्न पनि दिनुपर्यो,’ उनले भने ।

केन्द्रिय तहमा अझै स्थानीय तहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको भन्दै उनले एउटै कामलाई दोहोरो तहमा निकायहरुले गर्न नहुने बताए ।

महानगरपालिकाको गतिबिधिलाई तिब्र गतिमा अघि बढाउन आफूले हाल भएका विभिन्न विभागहरु अन्र्तगत ११ वटा समिति बनाएको शर्माले जानकारी दिए ।

हाल काठमाडौं महानगरपालिकाले सबै स्थानिय तहको नेतृत्व लिईरहेको भन्दै महानगरपालिकाले जनचाहनाअनुसार कामगर्ने दाबी गरे ।

प्रमुख प्रशासकिय अधिकृत शर्माले हालको महानगरपालिकाको कार्यालय भएको हरी भवन भत्काएर नयाँ कार्यालय भवन बनाउने बताए ।

‘हरी भवन जसरी पनि नयाँ बनाउनुपर्दछ र हामी वास्तुकलालाई संरक्षण गर्ने गरि भवन निर्माण गर्नेछौं,’ प्रमुख प्रशासकिय अधिकृत शर्माले भने ।

उनले काष्ठमण्डप पुन निर्माणका केहि समस्या भएको भन्दै समाधानको पहल भएको जानकारी दिए ।

काठमाडौंको मध्यभागमा रहेको रानी पोखरी पुर्न निर्माणमा अब निरन्तरता आउने भन्दै दोस्रो चरणको ठेक्काको लागि पनि प्रकृया अगाडि बढाईसकेको जानकारी उनले दिए ।


पुष्प दुलाल