एक तोला सुनका मालिक बर्षमानले चुनाबमा अमरसिंहलाई जित्लान् ?




काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको माहोलले मुलुकलाई छोपेको छ । १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचनको प्रचार प्रसार व्याप्त छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी प्रचारमा छन् ।

चुनावी प्रचारकै क्रममा रहेका नेता तथा कार्यकर्ताले आआफ्ना दलको घोषणापत्र साथमा लिएर जनताको घर आगनमा पुगेका छन् । हामीले चुनावी प्रतिस्पर्धामा रहेका नेताको सम्पत्ति विवरण र आर्थिक हैसियतलाई प्रस्तुत गर्ने जमर्काे गरेका छौं ।

रोल्पा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन चुनावी मैदानमा छन् भने उनको प्रतिस्पर्धी उम्मेदवारका रुपमा सिंचाई राज्यमन्त्री अमरसिंह पुन छन् ।

पूर्वअर्थमन्त्री र बहालवाला राज्यमन्त्रीबीचको चुनावी प्रतिस्पर्धालाई रोचक प्रतिस्पर्धाको रुमपा लिइएको छ । वर्षमान नेकपा (एमाले) सहितको वाम गठबन्धनका उम्मेदवार हुन् भने अमरसिंह नेपाली काँग्रेसलगायतका लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् ।

संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा माओवादी केन्द्रले विजय हासिल गरेको रोल्पाका दुई क्षेत्र एकै ठाँउमा मिसिएर एक निर्वाचन क्षेत्र भएको छ । वर्षमानलाई विगतको इतिहास जोगाउने चुनौति छ भने अमरसिंहलाई काँग्रेस विजयी गराएर नयाँ इतिहास रच्ने मौका छ ।

कति छ पूर्व अर्थमन्त्री पुनको सम्पत्ति ?
डा बाबुराम भट्टराई नेतृत्वको सरकारको अर्थमन्त्री रहेका वर्षमान पुन मन्त्री रहेका बखत उनले पेस गरेको विवरणलाई आधार मान्ने हो भने उनीसँग रोल्पा माडी गाँउपालिकामा दुई रोपनी पाखो बारी र खेत छ । एउटा गाँउले घर रहेको पुनको बैंक तथा वित्तीय संस्थामा भने कुनै पनि शेयर रहेको देखिदैन ।

बैक तथा वित्तीय संस्थामा आफ्नो नाममा कुनै पनि रकम मौज्दात नरहेको र कुनै पनि क्षेत्रमा लगानी समेत नरहेको उनले बताए ।

अर्थमन्त्री भएका समयमा उनले पेश गरेको विवरणमा भने करिब एक तोला सुन रहेको देखिन्छ । त्यसबाहेक चाँदी तथा अन्य गर गहना पनि उनको नाममा देखिदैन ।

काठमाडौंमा बस्दै आएका पुनको कुनै पनि व्यवसाय भने देखिदैन । जनयुद्धकालमा आफ्नो नाममा रहेको धेरै जसो सम्पत्ति बेचविखन गरेर पार्टीमा नै लगाएको बताउने पुन पछिल्लो समय श्रीमती ओनसरी घर्ती सभामु्ुख भएकाले उनले प्राप्त गरेको पारिश्रमिक तथा भत्ताबाट नै जीवन चलाएको बताउँछन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा पराजित भएका पुन त्यस यता कुनै पनि सार्वजनिक पदमा छैनन् । आफूसँग कुनै पनि सम्पत्ति तथा धनदौलत नभएको पुन बताउँछन् ।

कति छ सिंचाई राज्यमनत्री पुनको सम्पत्ति ?
पूर्व अर्थमन्त्री वर्षमानसँग रोल्पामा चुनाव लड्न लागेका अमरसिंह पुन सिंचाई राज्यमन्त्री हुन् । उनी रोल्पा काँग्रेसका सभापति समेत हुन् ।

उनले सार्वजनिक गरेको विवरणअनुसार उनीसँग चार तोला सुन छ । रोल्पा राँकमा एउटा सामान्य घर तथा सात रोपनी खेत र नौ रोपनी पाखा बारीका धनी अमरसिंहले सबै सम्पत्ति आफ्नो पैत्रिक रहेको उल्लेख गरेका छन् । यस्तै आफूले सांसद तथा मन्त्रीबाट प्राप्त भएको आम्दानी नै आम्दानीको रुपमा रहेको देखाएका छन् ।

केही बैंक तथा वित्तिय संस्थाको सेयर खरिद गरेको भएपनि उल्लेख्य भने देखिदैन । यस्तै एभरेस्ट बैंकमा एक लाख ५० हजार नगद रहेको उनको विवरणबाट देखिन्छ । उक्त रकम तलब भत्ताबाट प्राप्त भएको उनले विवरणमा उल्लेख गरेका छन् ।

अन्य विवरण भने उनले आर्थिक वर्ष २०७२÷७३ मा संसद् सचिवालयमा बुझाएको विवरणअनुसार नै रहेको भन्दै सार्वजनिक गरेका छैनन् ।

रोल्पाको दश स्थानीय तह मध्ये सात वटामा माओवादी केन्द्र विजयी भएको छ भने एमालले दुई र काँग्रेसले एक स्थानीय तहको निर्वाचन जितेका छन् ।


क्लिकमान्डु