अब काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच



काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न ? चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर्नुहोला ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही थालेको छ ।

राति ८ देखि ११ बजेसम्म मापसे गर्नेमाथि कारबाही गर्दै आएको ट्राफिक प्रहरीले केही दिनयता दिउँसोसमेत जाँच गर्न शुरु गरेको हो ।

महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले ट्राफिक प्रहरीको राति एकै समय मापसे जाँच गर्दा चालकले छल्नका लागि दिउँसै मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउन थालेपछि दिउँसै जाँच गर्न शुरु गरिएको बताए ।

‘सडकमा गुडिरहेका सवारीसाधनलाई बाधा नपर्ने गरी क्रमशः दुई चारवटा सवारीसाधनलाई सडकको किनारामा ल्याएर जाँच गर्न थालेका छौं,’ उनले भने ।

दिउँसो कार्यालय छाडेर घर जाने समयमा मापसे गरेर सवारी चलाएको पाइएको उनले बताए ।

महाशाखाले विसं २०६८ मंसिर १७ देखि मापसे गरी सवारी चलाउने चालकमाथि जाँच गर्दै आएको हो । प्रवक्ता रञ्जितकारले पछिल्लो समय मापसे गरी सवारी चलाउने र दुर्घटना हुने सङ्ख्यामा कमी आएको बताए ।

ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने सवारीसाधनलाई सवारी चालक अनुमतिपत्र भए १ हजार र नभए २ हजार जरिवाना लिँदै आएको छ । रासस


पुष्प दुलाल