महेश बस्नेतले भने- मन्त्री हुँदा भक्तपुरमा मैले ४ अर्ब बजेट ल्याएँ



भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ का वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफुले भक्तपुरमा ४ अर्ब रुपैयाँ बजेट ल्याएको बताएका छन् ।

भक्तपुरको विकासका लागि आफूले धेरै काम गरेकाले जनताले आफूलाई जिताउने बस्नेतले दाबी गरे । उनले लोकतन्त्रमा जीतहारको कुराभन्दा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै आफ्ना पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्य भएको प्रतिक्रिया दिए ।

‘भक्तपुरको विकास र गौरवलाई उँचोमा पु¥याउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘आफू उद्योगमन्त्री हुँदा आफ्नै पहलमा भक्तपुरमा ४ अर्ब रुपैयाँको विकास बजेट ल्याएर विकासका काम तीव्र पारेको जगजाहेर छ।’

म पर्यटक उम्मेदवार होइनः ढुङ्गाना

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार भएका दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘भक्तपुर म हुर्केबढेको पढेको ठाउँ, यहाँ मेरो जग्गा जमिन छ, त्यसैले म पर्यटक वा पाहुना उम्मेदवार होइन ।’

देशभर वाम गठबन्धन बनेका बेलामा भक्तपुरमा सो गठबन्धनसँग लड्न सक्ने मान्छेको खोजी गर्दा आफू उम्मेदवार बन्नुपरेको ढुंगानाले बताए ।

‘वाम गठबन्धनसँग लड्न सक्ने व्यक्ति म मात्रै हो भन्ने पार्टीले मूल्यांकन गरेकाले मलाई पार्टीले उम्मेदवार बनाएर पठायो, उम्मेदवार बन्न भक्तपुरकै बासिन्दा हुनुपर्छ भन्ने छैन,’ उनले भने ।

पूर्वसभामुख ढुंगानाले अहिले भक्तपुरको भविष्यसँग जोडिएर आफ्नो उम्मेदवारी आएको बताए ।


पुष्प दुलाल