सहकारी अभियान्ता पौडेल सहकारी विकास बोर्डको सहअध्यक्ष



काठमाडौं । सहकारी अभियान्ता दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त भएका छन् ।

राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने व्यवस्था छ । पौडेल यसअघि बोर्डको सञ्चालक थिए । उनी व्यावसायिक घराना प्रभु समूहका सञ्चालक समेत हुन् ।

बोर्ड सहकारीका नीति नियम बनाउने सहकारी मन्त्रालयपछिको यो क्षेत्रको उच्च निकाय हो ।

हाल देशभर ३४ हजारभन्दा बढी सहकारी छन् । यसरी बग्रेल्ती खुलेका संस्थाहरुलाई व्यापक मर्जरमा लैजाने नवनियुक्त सहअध्यक्ष पौडेलले जानकारी दिए ।

‘सहकारीमा ब्यापक मर्जरको अभियान सञ्चालन गरी संस्थाहरुलाई बलियो बनाउनु मेरो मुल उदेश्य रहनेछ,’ नवनियुक्त सहअध्यक्ष पौडेलले क्लिकमाण्डूसँग भने, ‘सामुहिक लगानीका आधारमा पुँजीको अभावमा लगानी हुन नसकेका उद्योग व्यवसायलाई सहकारीको माध्यममार्फत सञ्चालन गर्नका लागि पहल गर्ने छु ।’

सहकारीका विश्वव्यापी मान्यताहरुलाई अक्षरस पालना हुनेगरी समतामूलक समाजको निर्माणका लागि खुल्ला बजार अर्थतन्त्रमा आधारित सहकारी अभियानलाई व्यापक रुपमा परिचालन गर्ने योजना रहेको पौडेलले सुनाए ।


पुष्प दुलाल