तपाईसँग विद्युतीय सवारी साधन छ ? रत्नपार्क जानुस्, चार्ज गर्नुस्



काठमाडौं । विदेश यात्रामा सडकको किनारमा राखिएका विद्युतीय सवारी साधानको चार्जिङ स्टेशन देख्नु भएकै होला । जानु भएको छैन भने सुन्नु त पक्कै पनि छ होला ।

अब विदेशका सडक किनारमा राखिए जस्तै राजधानी काठमाडौंमा पनि विद्युतीय सवारीका लागि चार्जिङ स्टशेन जडान भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रचारात्मक हिसाबले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि त्यस्तो स्टेशन खडा गरेको हो ।

प्राधिकरणले विद्युतीय सवारी साधनको ब्याट्री चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ जडान गरेको छ । प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा औद्योगिक क्षेत्रमा प्रयोग हुने टिओडी मिटर राखेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रर्वद्धनात्मक रुपमा चार्जिङ स्टेशन जडान गरिएको जानकारी दिए । चार्जिङ स्टेसनमा जोडेको २ घन्टामा विद्युतिय सवारी साधन पूर्णरूपमा चार्ज हुने उनले बताए ।

विज्ञकाअनुसार त्यसरी एउटा सवारी साधनले चार्ज गर्दा १५० देखि ३०० रुपैयाँसम्म लाग्ने बताइएको छ ।

असाध्यै न्यून चार्ज भएका सवारी साधनलाई चार्ज गर्न भने डेढ घन्टादेखि दुई घन्टा र अलिक बढी चार्ज भएकाको हकमा भने ४५ मिनेटसम्मको समयमा सवारी साधन पूर्ण रुपमा चार्ज हुने प्राधिकरणको भनाइ छ ।

सवारी साधनले ब्याट्री चार्ज गर्दा आउने बिलका आधारमा ग्राहकले शुल्क तिर्नुपर्ने छ । अहिले केन्द्रीय कार्यालयमा नमूना स्टेसनकारूपमा जडान गरिएको चार्जिङ स्टेसनलाई देशभर विस्तार गर्ने प्राधिकरणको योजना छ ।

विद्युतिय सवारी साधन निर्माण तथा विक्री गर्ने विश्वका विभिन्न कम्पनीसँग सहकार्य गरेर चार्जिङ स्टेसन राख्नेबारे छलफल भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

विद्युतिय सवारी साधन चार्जका लागि मात्रै नभइ माग व्यवस्थापन गर्न सहयोग पुर्याउने लक्ष्यका साथ सवस्टेशनको आसपास समेत कम्तीमा १० मेगावाट क्षमताको त्यस्तै स्टशेन जडान गरिनेछ ।

प्राधिकरणले केही समयभित्रै राजधानीका विभिन्न एक दर्जन बढीस्थानमा चार्जिङ स्टेशन खडा गर्ने तयारी गरेको छ ।


पुष्प दुलाल