त्रिशूली थ्री एको निर्माण तोकिएको समय अघि सक्न घिसिङको ताकेता



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजना तोकिएको समय अघिनै सम्पन्न गर्न ताकेता गरेको छ ।

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रवीण अर्याल र उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक हरराज न्यौपाने सहितको टोलीले शनिबार स्थगलत निरीक्षण गरी अर्को वर्षको हिउँदमा विद्युत उत्पादन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

टोलीले आयोजनास्थलमै ठेकेदार कम्पनीहरु, भूकम्प र पहिरो क्षति पुर्याएको बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा पाएको नेपाली सेना र परामर्शदाता कम्पनीबीच छलफल गरेको थियो ।

टोलीले तोकिएको समयभन्दा अगाडिनै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने र ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘माथिल्लो त्रिसुली थ्री एलाई सरकारले उच्च प्राथमिकता दिएर विशेष निगरानीमा राखेको छ, त्यसैले तोकिएको समयभन्दा अघि नै आयोजनाको निर्माण सकिनु पर्छ’, सचिव उपाध्यायले भने,‘निर्माण आउने अवरोध तथा समस्या समाधानका लागि मन्त्रालय र प्राधिकरण सञ्चालक समिति सँधै तयार छ ।’

भुकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख २०७६ सम्म थप गरेको छ ।
प्रसारण लाइन निर्माण सहितको समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

लागत सय समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँगको सम्झौता २०६८ जेठ बाट कार्यान्वयमा आएको थियो ।

३५ महिनामा काम सक्ने गरि सिजिजिसीसँग ठेक्का सम्झौता भएको थियो ।
समयमा निर्माण स्थल दिन नसक्दा, विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि म्याद २०७३ असार सम्म थपिएको थियो । भुकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो ।

ठेकेदार कम्पनीले अहिले करिव तीन सय जना कामदार परिचालन गरी काम गरिरहेको छ । मुख्य संरचना, प्रसारण लाइन, भूकम्प र पहिरो क्षति पुर्याएको बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम तथा सडक मर्मतको काम एकसाथ भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको कामलाई तिब्रता दिन अहिले कुनै समस्या नरहेको बताए ।

‘चिनियाँ एक्जिम बैकले ऋणको अवधि थप भइसकेको छ,सेनाले पनि काम सुरु गरिसकेको छ’,उनले भने,‘अर्को वर्षको फेब्रुअरीभित्र विद्युत उत्पादन गर्ने गरी काम हुनुपर्छ, त्यस समयमा निर्माण सकिएमा हिउँदको विद्युत माग व्यवस्थापन गर्न भारतबाट विजुली ल्याउनु पर्दैन, जुन मुलुकका लागि ठूलो उपलब्धि हो ।’

घिसिङले निर्माणमा थप जनशक्ति परिचालन गर्न र निर्माणको समन्वयका लागि आयोजना, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीबीच हरेक हप्ता बैठक बसी समस्या समाधान गर्न निर्देशन दिए ।

आयोजनाले निर्माण गरिहेको त्रिसुली ३ ए–मातातिर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये अहिलेसम्म ९१ वटाको जग हालिएको छ । लाइन निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन सुरक्षाकर्मी समेत परिचालन गरिने कार्यकारी निर्देशक घिसिङले बताए ।

आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र चीनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको हो । आयोजनाको काम नसकिंदै ५ वर्षको ब्याज तिर्नु नपर्ने अवधि (ग्रेस पिरियड) सकिएर ऋण तिर्ने समय सुरु भएको थियो । एक्जिम बैकले केही अघि म्याद थप गरेको थियो । आयोजनाका लागि चीनले एक्जिम बैंकमार्पmत ११ करोड ५७ लाख अमेरिकी डलर ऋण दिएको थियो ।

पहिरो क्षति पुर्याएको बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मत आगामी चैत्रभित्रमा सक्ने गरी काम भइरहेको सेनाले जनाएको छ ।


क्लिकमान्डु