पुँजी वृद्धिमा यहाँ चुक्यो राष्ट्र बैंक, अब यी समस्या आउन सक्छन्




चुक्ता पुँजी बढाएकै कारण बैंकहरु बलिया हुन्छन् भन्ने तर्कसँग म पूर्णरुपमा सहमत छैन । पुँजी बढाए अनुसार बिजनेश पनि बढायो भने उसको जोखिमको अनुपात त्यसरी नै बढ्छ । मानौं, पहिला ५० अर्ब रुपैयाँको व्यापार गर्ने बैंक ४ अर्ब चुक्ता पुँजीमै बस्यो । ५० अर्बको ४ अर्ब भनेको ८ प्रतिशत हो । तर, त्यो बैंकले पुँजी ८ अर्ब पुर्याएर १ खर्बको बिजनेश गर्यो भने जोखिम त उस्तै रह्यो ।

त्यसैले, पुँजी बढाएकै कारण बैंक बलियो हुन्छन् भन्ने भयो भन्ने तर्क ठीक नहोला । बासल–३ कार्यान्वयन गर्ने हो भने बैंकमा उत्पन्न हुनेजोखिम त त्यहीँबाट नियन्त्रण गर्न सकिन्थ्यो ।

सबैभन्दा पहिला नेपालको अर्थतन्त्रको आकार हेर्नुपर्यो । हाम्रो अर्थतन्त्रको आकार जम्मा २५ खर्ब रुपैयाँको हो । सबै कुरा गर्दा अर्थतन्त्रको आकारसँग मिल्नेगरी गरियो भने राम्रो हुन्छ ।

बैंकको पुँजी बढाउने नीतिले सेयर बजारमा ठूलो उत्तारचढाब भयो । र, जसरी कृत्रिम रुपमा सेयर बजार बढ्यो, त्यसो हुन दिनु हुँदैन थियो । अब त के नै गर्न सकिन्छ र ? चुक्ने ठाउँमा राष्ट्र बैंक चुकिसक्यो ।

मलाई लाग्छ, राष्ट्र बैंकले हकप्रद सेयर जारी गरेर पुँजी बढाउन नदिएको भए हाम्रो सिस्टम धेरै नै राम्रो हुन्थ्यो । हकप्रद सेयर जारी गर्न दिएर राष्ट्र बैंक चुकिसकेको छ ।

अस्तिसम्म ८० रुपैयाँ ऋण दिनुपर्यो भने १०० रुपैयाँको धितो माग्ने बैंकरले ७० रुपैयाँको धितो भए पुग्छ भनेर ऋण दिन थाल्छ । पहिला १०० रुपैयाँ कमाउनेले ५० रुपैयाँ तिर्न सक्छ भनेर हिसाब गरेर ऋण दिइन्थ्यो भने अहिले १०० रुपैयाँ कमाउनेले ८० रुपैयाँ तिर्नसक्छ भनेर क्याल्कुलेशन गर्न थालिन्छ ।

देशको अर्थतन्त्रको गति एकातिर छ । त्यो भन्दा धेरै गुणा बढी गतिमा बैंक अघि बढ्न खोज्दा दुर्घटना हुनसक्छ । आर्थिक वृद्धिको साढे २/३ गुणा बढीले वित्तीय क्षेत्रको वृद्धि हुनु सामान्य नै मानिन्छ । यसको अर्थ, ७ प्रतिशतको आर्थिक वृद्धिदर हुँदा २०/२१ प्रतिशतसम्मको वित्तीय क्षेत्रको वृद्धिदर स्वभाविक हो ।

तर, मेरो पुँजी बढ्यो । त्यसैले मैले मेरो रिटर्न मेन्टेन गर्नुपर्छ । ३०/४० प्रतिशतको ग्रोथ त संभव हुँदैन । कुनै बैंक त्यस्तो ग्रोथ गर्नतिर लाग्यो भने उसले आफ्नो स्टान्डर्डलाई कम्प्रमाइज गर्दैछ । आफ्नो कन्ट्रोल मेकानिजमहरु लुज गर्दैछ । त्यो भनेको भावी दिनमा दुर्घटनाको अधिक संभावना हो ।

सबैभदा पहिला त पहिलेको जस्तो बैंकबाट प्रतिफलको आश गर्नु वास्तविक हुँदैन । राम्रै पर्फम गर्ने बैंकहरुको प्रतिफल पनि अब पहिलेको जस्तो संभव हुँदैन । पुँजीको जति वृद्धि भयो, त्यही अनुरुपको बिजनेशको वृद्धि भएको छैन । र, त्यो हुँदैन पनि । किनभने हामीले ३ वर्षभित्रमा ४ गुणाले पुँजी बढायौं । यो अवधिमा कसैले पनि ४ गुणाले बिजनेश बढाएका छैनन् । लगानीकर्ताले अब बैंकहरुको प्रतिफल तल आउँछ भन्ने कुरा आफ्नो क्याल्कुलेशनमा इन्क्लुड गर्नुपर्छ ।

तर, त्यो भन्दा भन्दै पनि लगानीकर्ताले त प्रतिफल खोज्छ नै । लगानीकर्ताको त्यो प्रेसर व्यवस्थापनमा पर्छ । त्यसपछि के हुनसक्छ भने बैंकहरुले आफ्नो कन्ट्रोल सिस्टम र स्टान्डर्डमा कम्प्रमाइज गर्न थाल्छन् । ब्यवस्थापनले पनि एक तहसम्म मात्रै थेग्न सक्ला । बाँकी त कम्प्रमाइज गर्छ नै । ठीकै छ, ४० प्रतिशतको वृद्धि हासिल गर्न नसकौंला । तर ३० त गर्न सकिन्छ भनेर व्यवस्थापनले कम्प्रमाइज गर्छ । लक्ष्य प्राप्तिका लागि आफ्ना कदमहरु अघि बढाउनुपर्यो । देशको अर्थतन्त्र एक ठाउँमा छ, त्यो भन्दा आफू निकै धेरै तीब्र गतिमा दौडिनु परेपछि समस्या सिर्जना हुन्छ नै ।

तत्काल त उच्च वृद्धि देखिन्छ । तर, यसले दीर्घकालमा पार्ने प्रभाव तत्काल देखिँदैन । फलस्वरुप तत्काल प्राप्त गरेको वृद्धि पानीको फोकामा परिणत हुने ठूलो खतरा रहन्छ ।

३ वर्षभित्रमा ४ गुणाले पुँजी बढायौं । यो अवधिमा कसैले पनि ४ गुणाले बिजनेश बढाएका छैनन् । लगानीकर्ताले अब बैंकहरुको प्रतिफल तल आउँछ भन्ने कुरा आफ्नो क्याल्कुलेशनमा इन्क्लुड गर्नुपर्छ ।

अस्तिसम्म ८० रुपैयाँ ऋण दिनुपर्यो भने १०० रुपैयाँको धितो माग्ने बैंकरले ७० रुपैयाँको धितो भए पुग्छ भनेर ऋण दिन थाल्छ । पहिला १०० रुपैयाँ कमाउनेले ५० रुपैयाँ तिर्न सक्छ भनेर हिसाब गरेर ऋण दिइन्थ्यो भने अहिले १०० रुपैयाँ कमाउनेले ८० रुपैयाँ तिर्नसक्छ भनेर क्याल्कुलेशन गर्न थालिन्छ । क्रेडिट स्टान्डर्डमा यस्ता किसिमका रिल्याक्सेसनहरु दिने प्रवृत्ति बढ्दै जान्छ । र, एग्रेसिभ भएर ऋण बढाउनमा मात्रै केन्द्रित हुन्छ ।

अहिले पनि कुनै कुनै बैंकले यही रणनीति अपनाएका छन् । आज गर्दा भोलि नै यसको असर देखिँदैन । देख्नलाई ३/४ वर्ष लाग्छ । किनभने समस्याग्रस्त ऋण गइसके पछि पनि के हुन्छ भने १ वर्षसम्ममा शतप्रतिशत प्रोभिजन गर्न राष्ट्र बैंकले नै समय दिएको छ । त्यही बीचमा बैंकहरुले पैसा उठाउने प्रयास गर्छन् । यसरी प्रवाह गरिएको ऋणले बैंकलाई वास्तविक समस्यामा पार्न ३/४ वर्ष लाग्छ । छोटो अवधिको व्यवस्थापन नेतृत्व सम्हाल्नेहरुले पछिको व्यवस्थापनले हेर्छ, अहिले आफ्नो पर्फरमेन्स चाहिँ देखाइ हालूँ भन्ने हुन्छ ।

पुँजी बढाउने बेलामा राष्ट्र बैंकले हामी बैंकरहरुसँग केही पनि छलफल गरेको थिएन । एकैपटक गभर्नरले मौद्रिक नीति पढ्दा मात्रै थाहा भयो । त्यतिबेला एकैपटक ४ गुणाले बढाउनु अलि बढी नै भएजस्तो लागेको थियो । र, राष्ट्र बैंकले त्यसबेला प्रष्टसँग भनेको र गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।

राष्ट्र बैंक केही हदसम्म चुक्यो । बैंकिङ क्षेत्रलाई कन्सोलिडेशन नै गर्ने उदेश्यले गरिएको हो र फोर्स मर्जर नभनी फोर्स मर्जर गराउन सकेको भए वित्तीय क्षेत्रलाई ठूलो फाइदा हुन्थ्यो । तर, राष्ट्र बैंकले हकप्रद सेयर जारी गरेर पनि चुक्ता पुँजी बढाउन पाइने व्यवस्था गरिदियो । हकप्रदबाट पुँजी बढाउन नदिएको भए मर्जर बढी हुन्थ्यो र राष्ट्र बैंकको मुख्य उदेश्य पनि पुरा हुन्थ्यो ।

राष्ट्र बैंकले पुँजी बढाउने घोषणा गरिरहँदा मलाई बैंकहरुले पुँजी त पुर्याउँछन् । तर, सिस्टममा चलखेल हुन्छ भन्ने लागेको थियो । आखिर चलखेल भयो नै । हकप्रद सेयरमा पैसा कहाँबाट आयो त ? बैंकिङ सिस्टमबाटै आयो । पुँजी वृद्धिको घोषणा पछि सेयर बजार बढ्यो, लगानीकर्ताहरुले त्यही सेयर धितो राखेर बैंकबाट ऋण लिए । र, हकप्रद सेयर हालेर बैंकको पुँजी बढाए । आफ्नो घरमा कसले २०÷५० करोड रुपैयाँ राखेर बस्छ ? यो कुरा त जगजाहेर छ ।

बैंकिङ क्षेत्रलाई कन्सोलिडेशन नै गर्ने उदेश्यले गरिएको हो र फोर्स मर्जर नभनी फोर्स मर्जर गराउन सकेको भए वित्तीय क्षेत्रलाई ठूलो फाइदा हुन्थ्यो । तर, राष्ट्र बैंकले हकप्रद सेयर जारी गरेर पनि चुक्ता पुँजी बढाउन पाइने व्यवस्था गरिदियो । हकप्रदबाट पुँजी बढाउन नदिएको भए मर्जर बढी हुन्थ्यो र राष्ट्र बैंकको मुख्य उदेश्य पनि पुरा हुन्थ्यो ।

पुँजी वृद्धिको घोषणाले ससाना विकास बैंक र फाइनान्स कम्पनी घटाउने काम गर्यो । यो पनि निकै ठूलो उपलब्धि हो । संख्या घटाउन आवश्यक थियो । साँच्चिकै भन्ने हो भने ख र ग वर्गका बैंक वित्तीय संस्था नराख्ने भन्ने उदेश्य थियो । तर, विभिन्न कारण र दबाबले त्यसो गर्न सकिएन । यद्यपि ठूलो सहयोग चाहीँ भएको छ । हकप्रद सेयरको अप्सन नदिएको भएन यस्ता संस्थाहरु अझ धेरै घट्ने थिए ।

मर्जर र एक्वायरको उदेश्यका लागि पुँजी वृद्धिको योजना ल्याउनु एकदमै ठीक हो । तर, पुँजी बढाउनका लागि मात्रै बढाउँदा चाहीँ उपयुक्त होइन । किनभने एकातिर हामी बासल–३ तिर जाने भनिरहेका छौं । बासलले कहिले पनि यति चुक्ता पुँजी चाहिन्छ भनेर भनेको छैन । जुन आकारको बिजनेश गर्ने हो, त्यही आकारमा पुँजी बढाउनुपर्छ भनेको छ ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीसँगको कुराकानीमा आधारित


क्लिकमान्डु