३ सय ८४ पदका लागि ४ हजार ७ सय ८ जना भिड्दै



काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि ४ हजार ७ सय ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) का अनुसार दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुदैंछ ।

जेइओसीका अनुसार प्रतिनिधिसभातर्फ १२८ सदस्यका लागि १,७४२ र प्रदेशसभा सभातर्फ २५६ सदस्यका लागि २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ ।

प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिला उम्मेदवार रहेका छन । दुवै सभामा सात प्रतिशत मात्रै महिलाको उम्मेदवारी दर्ता भएको छ ।

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहिबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी हुन् । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट हो ।

प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर छन् । त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत हुन् ।

प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया छन् । प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।


क्लिकमान्डु