युवालाई अवसर दिने भन्दै भक्तपुरबाट उठेनन् नारायणमान




काठमाडौं । विगतका पाँच वटै निर्वाचनमा एकछत्र विजयी हुँदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे यस पटक भने उम्मेदवारी दिएनन् ।

उनले पार्टिमा युवा पुस्तालाई अगाडि बढाउन आफूले उम्मेदवारी नदिएको बताए । उनले यस पटक आफू उम्मेदवार नबनेपनि भक्तपुरमा पार्टीलाई विजयी गराउन अझै सक्रियतापूर्वक लाग्ने बताएका छन् ।

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । दुबै निवर्तमान सांसद हुन् । संसदीय गतिविधिमा दख्खल भएका र संसदीय राजनीतिमा परिपक्व मानिने सुवाल र थापालाई उम्मेदवार बनाएर मैदानमा प्रस्तुत गरिएको छ ।

सो पार्टीले प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् । नयाँ पुस्तालाई अवसर दिन आफू चुनावमा नउठ्ने निर्णय गरेको र यसको राजनीतिक संस्कार समेत देखाउने उनको भनाइ छ ।


क्लिकमान्डु