पोहोरको भन्दा नाफा किन घट्यो हिमालयन र मेगा बैंकको ?




काठमाडौं । चालु आर्थिक बर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा हिमालयन बैंक र मेगा बैंकको खुद नाफा घटेको छ । दुबै बैंकले बिहिबार प्रकाशित गरेको वित्तीय विवरणले दुबै बैंकको खुद नाफा घटेको देखाएको हो ।

चालु आर्थिक बर्षको तीन महिनामा हिमालयन बैंकले ४१ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको तीन महिना अर्थात असोज मसान्तसम्ममा नै हिमालयनले ४३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

हिमालयनले गत आर्थिक बर्षको तीन महिनाको भन्दा चालु आर्थिक बर्षको तीन महिनामा २ करोड ८२ लाख रुपैयाँ जति खुद नाफा घटाएको छ ।

मेगा बैंकको खुद नाफा भने गत बर्षको तुलनामा उल्लेख्य रुपमा घटेको छ । चालु आर्थिक बर्षको तीन महिना अर्थात असोज मसान्तसम्ममा मेगा बैंकले ८ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको तीन महिनामा मेगाले १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

अघिल्लो आर्थिक बर्षको तीन महिनामा भन्दा चालु आर्थिक बर्षको तीन महिनामा मेगाले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा घटाएको छ ।

दुबै बैंकले नाफा कमाउने मुख्य आधार स्रोत बढाए पनि नाफा भने घटेको छ । मेगाको चुक्ता पुँजी गत बर्षको असोज मसान्तमा रहेको ३ अर्ब २४ करोड रुपैयाँबाट बढेर यो असोज मसान्तमा ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

गत बर्षको असोज मसान्तमा ३६ अर्ब २९ करोड रुपैयाँ निक्षेप मेगामा थियो । यो बर्षको असोज मसान्तमा यस्तो निक्षेप बढेर ३९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । मेगाले कर्जा तथा लगानी पनि बढाएको छ । गत असोज मसान्तमा ३१ अर्ब ८१ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको मेगाले यो बर्षको असोज मसान्तमा यस्तो रकम बढाएर ३५ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै अबस्था हिमालयन बैंकको पनि छ । गत असोज मसान्तमा हिमालयनको चुक्ता पुँजी ४ अर्ब ९६ करोड रुपैयाँ थियो । यो बर्षको असोजमा यस्तो चुक्ता पुँजी बढेर ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

ब्याजदर नघटेको कारण चालु आर्थिक बर्षमा सबै बैंकहरूको नाफा नै घट्ने हो कि भन्ने संकेत चालु आर्थिक बर्षको तीन महिनाले दिएको छ ।

गत बर्षको असोजमा ९३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको हिमालयनले यो बर्षको असोजमा यस्तो निक्षेप बढाएर ९६ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । हिमालयनको कर्जा तथा लगानी पनि गत बर्षको असोजमा ७२ अर्ब १८ करोड रुपैयाँ रहेकोमा यो बर्षको असोजमा बढेर ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

दुबै बैंकको ब्याजखर्च अत्याधिक बढ्दा नाफा प्रभावित भएको देखिएको छ । गत आर्थिक बर्षको असोजसम्ममा हिमालयनले ५० करोड ७८ लाख रुपैयाँ मात्रै ब्याज खर्च गरेको थियो भने यस बर्षको असोज मसान्तसम्मा यस्तो खर्च १ अर्ब ३६ करोड १५ लाख रुपैयाँ नाघिसकेको छ ।

मेगाको अबस्था पनि यस्तै छ । गत आर्थिक बर्षको असोज मसान्तसम्ममा ३७ करोड ६ लाख रुपैयाँ मात्रै ब्याज खर्च गरेको मेगाले यो बर्षको असोज मसान्तसम्मा ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढी ब्याज खर्च गरिसकेको छ ।

बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज बढेको र सो अनुपातमा कर्जा तथा लगानी नबढेको कारण दुबै बैंकको खुद नाफा घटेको देखिएको छ । असोज मसान्तपछि पनि बैंकहरुले ब्याज घटाएका छैनन् । ब्याजदर नघटेको कारण चालु आर्थिक बर्षमा सबै बैंकहरूको नाफा नै घट्ने हो कि भन्ने संकेत चालु आर्थिक बर्षको तीन महिनाले दिएको छ ।


क्लिकमान्डु