कुलमानले भने– माथिल्लो तामाकोशी जलविद्युत बनेपछि आफ्नै स्रोतबाट लोडसेडिङ्ग अन्त्य



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी जलविद्युत परियोजना नेपालको गर्व गर्ने विद्युत परियोजना भएको बताएका छन् । कार्यकारी निर्देशक घिसिङले एन्ड्रिज हाइड्रोद्धारा आयोजना गरिएको ‘कस्टमर डे नेपाल २०१७’ कार्यक्रमको अवसरमा माथिल्लो तामाकोशी परियोजना समयमा नै सकेर नेपालको लोडसेडिङ्ग अन्त्य गर्ने दाबी गरे ।

‘यो प्रोजेक्ट १ वर्षभित्रमा नै सक्ने योजना छ र यो परियोजनाको निर्माण सम्पन्न भएसँगै आफ्नै स्रोतले लोडसेडिङ्ग अन्त्य हुनेछ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

उनले नेपालमा १ सय वर्षदेखि विद्युत उत्पादन भएपनि कुल क्षमताको केवल १ प्रतिशत मात्र उत्पादन गर्न सकिएको बताए ।

नेपाल जलविद्युतमा उपयोग हुने टर्वाइन र जेनेरेटरजस्ता सामाग्रीहरुको ठूलो बजार भएको भन्दै गुणस्तरीय उत्पादनहरुको प्रयोगले बजार सुदृढ बनाउन कम्पनीलाई आग्रह गरे ।

उनकाअनुसार नेपालमा हाल ३ हजार ५ सय मेगावाट उत्पादन गर्नका लागि ३ सय भन्दा बढि परियोजनाले प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरिसकेका छन भने २ हजार २ सय मेगावाट क्षमताका परियोजनाहरु निर्माणाधिन अवस्थामा छन् ।

कुल १० हजार मेगावाट भन्दा बढि उत्पादन हुने गरि ४ सय भन्दा बढि परियोजनाहरु विभिन्न चरणमा उत्पादन हुने र यसको लागि हजारौं टर्वाइन र जेनेरेटर आवश्यक हुने उनले जानकारी दिए ।

घिसिङले सामाग्री आपूर्ति मात्र गर्नेभन्दा पनि बिक्रीपछिको सेवामा पनि ध्यान दिन आग्रह गरे । उनले चिलिमे र माथिल्लो तामाकोशी जलविद्युत परियोजनामा सो कम्पनीका गुणस्तरीय सामाग्रीहरु प्रयोग भएको बताउँदै सोहि अनुसारको सूपथ मूल्यको लागतमा बिक्रीपछिको सेवा दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री दिलनाथ गिरीले जलविद्युतको उचित विकास सरकारको प्राथमिकतामा रहेको भन्दै जलविद्युतबाट नै नेपालको आर्थिक उन्नती र विकास हुने बताए ।

त्यसैगरि नेपालका लागि अष्ट्रियाका राजदूत बिग्रेट ओफिलर वेइसोफरले जलविद्युत उत्पादनले वातावरण संरक्षणका साथै आर्थिक विकासमा सहयोग पुग्ने बताईन् ।


क्लिकमान्डु