दुई महिनापछि भारतबाट आउने बिजुली महंगो हुँदै, एकै पटक प्रतियुनिट ३.३३ रुपैयाँ बढ्ने



काठमाडौँ । ढल्केबर मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भइरहेको विद्युत्को आगामी दुई महिना पछि मूल्य वृद्धि हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइनबाट आयात गरिरहेको विद्युत् प्रतियुनिट ५.७५ रुपैयाँ रहेका छ । तर भारतमा विद्युत्को मूल्य बढेको भन्दै आगामी पुस १६ गते पछि भारतीय पक्षले उक्त मूल्यमा विद्युत् उपलब्ध गराउन नसक्ने प्राधिकरणको नेतृत्वलाई जानकारी गराएको छ ।

सम्भवत सो प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट ८.८८ रुपैयाँ हुनेछ । सो आधारमा हेर्दा प्रतियुनिट ३.३३ रुपैयाँ प्रतियुनिट बढी मूल्य तिर्नुपर्नेछ ।

भारतबाट नेपाललाई विद्युत् उपलब्ध गराउने नोडल एजेन्सीको रुपमा रहेको एनभिभिएनले पूरानो मूल्यमा नेपाललाई विद्युत् उपलब्ध गराउन नसक्ने जनाएको छ ।

तर, विद्युत् आयात सम्बन्धी सम्झौता भने आज नविकरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् व्यापार निगम(एनभिभिएन)सँग विद्युत् खरिद सम्झौता आज नविकरण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

पछिल्लो पटक नविकरण गरिएको उक्त सम्झौता आगामी पुस १६ गतेसम्म कायम रहने गरी सम्झौता नविकरण गरिएको छ । त्यसपछि पुनः अर्को सम्झौता हुनेछ ।

ढल्केबर-मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट सो सम्झौता अनुसार १६० मेगावाट विद्युत् आयात गरिनेछ ।

ढल्केबरमा सवस्टेशन निर्माण सम्पन्न भएको भए उक्त प्रसारण लाइनबाट आगामी हिउँदमा २०० मेगावाट विद्युत् आयात गर्ने तयारी प्राधिकरणले गरेको थियो । तर चिनियाँ ठेकेदारसँग प्राधिकरणले गरेको सम्झौता तोडिएपछि आगामी हिउँदमा सो प्रसारण लाइनबाट थप विद्युत् भने आयात नहुने भएको छ ।

नविकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु