प्रतिमेगावाट ५० करोडमा १२ वर्षपछि सकियो चमेलिया



काठमाडौं । ‘बाह्र वर्षमा खोलो पनि फकिन्छ’ भने जस्तै भएको छ , चमेलिया जलविद्युत् आयोजनाको हकमा ।

निर्माण सुरु भएको १२ वर्षपछि आगामी मंसिर १५ गतेदेखि उक्त आयोजना पूर्ण क्षमताका साथ सञ्चालन आउने तयारी गरिएको छ ।

आयोजनाको मुख्य सुरुङमा भोलि शुक्रबारदेखि पानी पठाउने तयारी आयोजनाले गरेको छ । सुरुङमा पानी पठाएर सुरुङको क्षमता मापन गरिनेछ ।

आयोजना सञ्चालनको प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार मंसिरको दोस्रो साता अर्थात् १५ गते आयोजना सञ्चालनको तयारी गरिएको छ ।

प्राधिकरणले यही कात्तिक १८ गतेबाट परीक्षण सुरु गर्ने तयारी गरेको छ । परिक्षण सुरु भएको करिब एक महिनाभित्र व्यापारिक उत्पादन सुरु गरिनेछ ।

क्षेत्रीय विकासमा समानता ल्याउने लक्ष्यका साथ सुरु भएको आयोजना अनेकन विवादमा फस्दै आएको थियो । सात पटक भेरियसन गरिएको आयोजनाको लागत समेत बढेर करिब १६ अर्बको हाराहारीमा पुगेको छ ।

३० मेगावाट विद्युत् उत्पादन हुँदा त्यसले सुदुरपश्चिम र मध्यपश्चिमको विद्युत् माग धान्न सहयोग पुग्ने विश्वास लिइएएको छ ।

चमेलियामा उत्पादन भएको विद्युत् प्रसारण गर्ने बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन समेत चार्ज गर्ने तयारीमा प्राधिकरण गरेको छ ।

२०६२ मा निर्माण सुरु भएको आयोजना २०६८ सालमा सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो ।


क्लिकमान्डु