पैसा धेरै भएपछि ऋण दिन आक्रमक भए बैंक, हप्तामै २० अर्ब कर्जा बढ्यो



काठमाडौं । लगानी योग्य पुँजी (तरलता) अधिक भएपछि बैंकरुले आक्रमकरुपमा कर्जा विस्तार गर्न थालेका छन् । पछिल्लो एक हप्तामा मात्रै बैंकहरुले २० अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।

तर, यो अवधिमा कर्जाको अनुपातमा निक्षेप भने अत्यन्तै कमले मात्रै बढेको छ । पछिल्लो एक सातामा बैंकहरुले ७ अर्ब रुपैयाँ मात्रै निक्षेप बढाएका छन् ।

तरलता अधिक भएपछि बैंकहरु कर्जा विस्तारमा आक्रमक भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

‘अहिले बैंकहरुको औषत पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) ७८ प्रतिशत छ, यस्तो रेसियो ८० प्रतिशतसम्म पुर्याउन सकिन्छ,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘७८ प्रतिशत सीसीडी रेसियो हुँदा नै बैंकहरुसँग ६० अर्ब रुपैयाँ अधिक तरलता छ । सीसीडी ८० पुर्याउने हो भने अहिलेकै अवस्थामा बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँसम्म कर्जा विस्तार गर्न सक्छन् ।’

रेमिट्यान्सको वृद्धिदर नकरात्मक रहेकाले बैंकरुमा निक्षेपको वृद्धदर पनि कम भएको उनको भनाई छ । तर, विगतमा तरलता अभाव हुँदा बैंकमा आएका कर्जा प्रस्ताबका फाइल अघि बढाउन नसकेका बैंकहरुले अहिले धमाधम यस्ता फाइल अघि बढाइरहेको दाहालले बताए ।

राष्ट्र बैंकका अनुसार कात्तिक ७ गते सम्ममा वाणिज्य बैंकहरुको कूल निक्षेप २१ खर्ब ४९ अर्ब रुपैयाँ छ । एकहप्ता अघि अर्थात् असोज मसान्तमा बैंकहरुको कूल निक्षेप २१ खर्ब ४२ अर्ब रुपैयाँ थियो ।

त्यस्तै असोज मसान्तसम्ममा १७ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले कात्तिक ७ गतेसम्ममा १८ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

तरलता बढेसँगै बैंकहरुले ब्याजदर पनि घटाएको दाहालले सुनाए ।

‘सानिमा बैंकले पहिले कर्जामा १५ प्रतिशतसम्म ब्याज लिँदै आएको थियो तर अहिले १३ प्रतिशत ब्याजमै ऋण दिँदै आएको छ,’ उनले भने, ‘तरलता बढेपछि निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएका हौं ।’


पुष्प दुलाल