सर्बसाधारणको लागि १५% सेयरसहित तनहुँ सेतीले १०५ मेगावाटको तल्लो सेती बनाउने



काठमाडौं । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग, एसियाली विकास बैंकलगायत अन्तराष्ट्रिय दातृ निकायको लगानीमा निर्माण हुन लागेको तनहुँ सेती जलविद्युत् आयोजनाले १०५ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ ।

स्थानीयबासीलाई १० प्रतिशत, सर्बसाधारणलाई १५ प्रतिशत सेयर दिने आयोजनाको तयारी छ । तनहुँ सेती जलविद्युत् आयोजनाको लागत ५५ अर्बको हाराहारीमा रहेकाले क्यासकेड आयोजना बनाउँदा समग्रमा आयोजनाको लागत पनि कम पर्ने भएकाले अर्को आयोजनाको तयारी गरिएको बताइन्छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा स्थापित तनहुँ सेती जलविद्युत् आयोजनाको टेलरेसबाट निस्केको पानी प्रयोग गरेर तल्लो सेती आयोजना निर्माण गर्न लागिएको हो ।

विद्युत् विकास विभागबाट यसअघि मात्रै ९२ मेगावाट क्षमतामा सम्भाव्यता अध्ययनको अनुमतिपत्र लिएको आयोजनाले क्षमता बढाउने तयारी गरेको हो । तर गण्डक गुरुयोजनामा भने सो आयोजनाको क्षमता १२७ मेगावाट बनाउन सकिने देखिएको छ ।

अध्ययनको क्रममा रहेकाले आयोजनाको क्षमता अझै बढ्न सक्ने देखिएको आयोजनाले जनाएको छ । स्थानीयबासीलाई समेत जलविद्युत् आयोजनामा लगानीमा लागि अग्रसर बनाउने लक्ष्यका साथ उक्त आयोजना निर्माण गर्न लागिएको हो ।

दातृ निकायको ऋणमा आयोजना बनाउन लागिएकाले सो ऋणको कम हुने भएकाले अर्को आयोजना पनि खोजिएको हो । यसअघि नीजि क्षेत्रको अर्को आयोजनाले उक्त आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिएको थियो । तर अध्ययनको क्रममा गतिलो काम गर्न नसकेपछि विद्युत् विकास विभागले सो अनुमतिपत्र खारेज गरेको थियो ।
लगत्तै तनहुँ सेती जलविद्युत् आयोजनाले त्यस आयोजनाको अनुमतिपत्र लिएर अध्ययनको काम गरिरहेको छ ।


क्लिकमान्डु