सांसदको चुनाब लड्न पुनर्निर्माण प्राधिकरणका सीइओले राजिनामा दिए



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्दराज पोखरेलले पदबाट राजिनामा दिएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजिना बुझाएका हुन् ।

‘मैले आइतबार नै प्रधानमन्त्रीलाई राजिनामा बुझाइसकेको छु, अब बाहिरै बसेर पुनर्निर्माणमा सहयोग गर्छु,’ प्युठानमा रहेका सीइओ पोखरेलले क्लिकमाण्डूसँग टेलिफोनमा भने ।

आज बस्ने मन्त्रिपरिषदको बैठकले पोखरेलको राजिनामा स्वीकृत गर्दैछ ।

पछिल्लो समय आफूलाई राजनीतिसँग जोडेर विभिन्न प्रकारका टिक्काटिप्पणी भएपछि आफूले पदबाट राजिनामा दिएको उनले बताए ।

दोस्रा पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका पोखरेलले निर्वाचन लड्ने प्रयोजनका लागि नै राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट सांसदको उम्मेद्वार बन्न प्युठान कांग्रेसले पोखरेलको नाम सर्वसहमतिमा सिफारिस गरेको थियो ।

तर, उनले चुनाव लड्ने वा नलड्ने विषय भने पार्टीको निर्णयमा भर पर्ने बताए ।


पुष्प दुलाल