के हो स्वीफ्ट ? कसरी हुन्छ ह्याक ?




सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले एउटा बैंकबाट अर्काे बैंकमा रकम पठाउने प्रणाली बनाएको छ ।

यसलाई नै द सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन(स्विफ्ट) भनिन्छ । यो नेटवर्कबाट बैंक तथा वित्तीय संस्थाले विश्वव्यापी रुपमा पैसा पठाउन र प्राप्त गर्न सक्छन् ।

यो गैरनाफामुलक संस्था हो । यसले बैंकहरुबीच रकम स्थानान्तरणको लागि विश्वब्यापी रुपमा सेवा दिएको छ । स्वीफ्ट मार्फत एउटा देशको बैंकले अर्काे देशको बैंकमा रकम पठाउन सक्छन् ।

बैंकहरुले विश्वासिलो वातावरणमा काम गर्ने अबस्था यो संस्थाले बनाएको छ । नेपालका प्रायः सबै बाणिज्य बैंकहरु र केही विकास बैंकहरुले स्वीफ्टको सेवा लिएर विश्वब्यापी रुपमा रकमान्तरको काम गरिरहेका छन् । यो भनेको विश्वब्यापी रुपमा बैंकबाट बैंकमा रकम पठाउँनको लागि विश्वासिलो वातावरण बनाएर काम भएको छ भन्ने हो ।

स्वीफ्टको सदस्य बन्न सबै बैंक तथा वित्तीय संस्थाहरुले शुल्क तिर्नुपर्छ । यसका हरेक गतिविधिको पैसा तिर्नुपर्छ । सदस्यता शुल्क मात्रै होइन, सुरक्षा सम्बन्धि प्रबिधिको पनि शुल्क तिर्नुपर्छ । सुरक्षासम्बन्धि अरु शुल्कहरु पनि तिर्नुपर्छ । स्वीफ्ट आफैमा प्रविधिमा आधारित सेवा भएकोले एउटा तहसम्मको सेवा सदस्य बन्नेकै आधारमा पाइन्छ ।

बिक्रम श्रेष्ठ

आजको दिनमा केही कुरा पनि शतप्रतिशत सुरक्षित छ भनेर भन्न सकिदैन । यसमा विभिन्न प्रकारबाट ह्याक हुन सक्छ ।

स्वीफ्ट ह्याक सामान्यतः मालवेयर पठाएर पनि गर्ने गरिएको पाइएको छ । मालवेयर भनेको एक प्रकारको भाइरस जस्तै हो । इमेल मार्फत कुनै कम्प्युटरमा मालवेयर पठाइन्छ र मालवेयर रहेको कम्प्युटर प्रयोगकर्ताले प्रयोग गरेको पासवर्ड जस्ता गोप्य र महत्वपूर्ण डेटा सो मालवेयरले कपि गरेर सम्बन्धित ब्यक्ति वा ह्याकरलाई पठाउँछ ।

कुनै ग्राहकलाई केन्द्रीत गरेर पनि ह्याक हुने गरेको पाइएको छ । यस्तै जुन कम्प्युटरमा स्वीफ्ट चलाइएको हुन्छ, त्यो कम्प्युटरलाई टार्गेट गरेर त्यसैमा इमेलमार्फत वा स्वीफ्ट चलाउने ब्यक्तिलाई केन्द्रीत गरेर इमेल गरेर पनि मालवेयर पठाउने गरिएको पाइएको छ । यसरी पठाएको मालवेयरबाट सो कम्प्युटबाट चाहिने तथ्यांक ह्याकरले लिन सक्छन् । र, गोप्य डेटा प्राप्त गरिसकेपछि ह्याकरले स्वीफ्ट ह्याक गरेर कुनै देशको बैंक खातामा रहेको पैसा अर्काे देशको कुनै बैंक खातामा पठाउन सक्छन् ।
इन्टरनेट सोसाइटीका अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित


क्लिकमान्डु