एनआइसी एशिया बैंकको स्वीफ्ट ह्याक गरेर पैसा विदेश पठाइयो




काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट ह्याक भएको छ । लक्ष्मी पूजाको दिनदेखि बैंकको स्वीफ्ट ह्याक गरेर विदेशमा रकमान्तर गरिएको छ ।

बैंकको स्वीफ्टमा गत असोज ३१ गते नै समस्या आएको बताइएको छ । स्वीफ्ट ह्याक गरेर कति रकम विदेश पठाइयो भन्ने अझै यकिन भएको छैन ।

बैंकको स्वीफ्ट ह्याक गरिएको जानकारी बैंकले गराएपछि नेपाल राष्ट्र बैंकको टोलीले अनुसन्धान थालेको छ । राष्ट्र बैंकको बिदेशी विनिमय विभाग, आइटी विभाग र बैंक सुपरिवेक्षण विभागका अधिकारी सम्मिलित टोली एनआइसी एसियामा पठाएर आइतवार विहानैदेखि अनुसन्धान सुरु गरिएको हो ।

एनआइसी एशिया बैंकको स्वीफ्ट ह्याक गरिएको जानकारी आएको र सो जानकारी लगत्तै राष्ट्र बैंकबाट टोली पठाएर अनुसन्धान थालिएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

स्वीफ्ट ह्याक गरेर केही रकम हिनामिना भएको जानकारी प्राप्त भएपनि कति रकम हिनामिना भयो भन्ने यकिन नभएको बैंक संचालक राजेन्द्र अर्यालले जानकारी दिए ।

‘स्वीफ्ट ह्याक गरेर केही रकम हिनामिना गरिएको जानकारी प्राप्त भएको छ, कसले ह्याक गर्यो र कति रकम हिनामिना भयो भन्ने यकिन भएको छैन, राष्ट्र बैंकले पनि अनुसन्धान थालेकोले चाँढै नै यसको तथ्य सार्बजनिक हुन्छ होला,’ एनआइसी एशिया बैंकका संचालक अर्यालले क्लिकमाण्डूसँग भने ।

स्वीफ्ट ह्याक गरेर करिब ५ करोड रुपैयाँ हिनामिना गरिएको चर्चा चले पनि यसको आधिकारिक पुष्टी भने हुन सकेको छैन । यसरी ह्याक गरेर रकम हिनमिना गरिए पनि बैंकहरुले सबै प्रकारका जोखिमको बीमा गर्ने हुनाले बैंकलाई कुनै असर भने पर्नेछैन ।


क्लिकमान्डु