समिट एअरले उडान नभर्दा डोल्पाका सर्वसाधारण मर्कामा



डोल्पा । दुर्गम डोल्पाको जुफाल विमानस्थलमा उडान भर्दै आएको समिट एअरले सहुलियत उडान नभरेपछि सर्वसाधारण मर्कामा परेका छन् ।

नेपालगञ्ज–डोल्पा, डोल्पा–नेपालगञ्ज उडान भर्दै आएका तारा, समिट र मकालु एअरले नेपालगञ्जदेखि डोल्पासम्म दुईतर्फी भाडा लिँदै आएकाले नेपालगञ्जदेखि डोल्पा जाने सर्वसाधारण मारमा परेका हुन् ।

तारा, समिट, मकालु एअरलाइन्सले नेपालगञ्जदेखि डोल्पासम्म प्रतियात्रु नौ हजार रुपैयाँमा उडाउँदै आएका छन् । तर डोल्पा–नेपालगञ्जको भाडा तीन हजार ६ सय रुपैयाँ लिने गरेका छन् ।

दुर्गमका जिल्लामा जहाजलाई रित्तै उडाउँदा घाटा लाग्ने भएकाले दुईतर्फी भाडा लिएर मात्र यात्रु चढाउने गरेका छन् । तर ती एअरलाइन्सले महँगो भाडाको मार कम गर्न हप्तामा एक दिन सहुलियत उडान भर्दै आएका जनाएका छन् ।

समिट एअरले दशैँ लगत्तै डोल्पामा हप्तामा एक दिन सहुलियत उडान भर्दै आएको जनाएपनि तिहारका लागि भने त्यसो नगरेको ठूलीभेरी नगरपालिकाका स्थानीयवासी जीवन शाहीले बताए।

समिट एअरलाइन्सको नेपालगञ्जस्थित स्टेसन प्रमुख दीपक शाह डोल्पामा पनि चाँडै सहुलियत उडान भर्ने तयारी भइरहेको बताउँछन् । सो एअरलाइन्सले तीन–तीन महिनामा कार्यतालिका बनाउने गरेको छ ।

‘अबको कार्यतालिकामा हामी डोल्पाका लागि पनि सहुलियत उडान राख्छौँ,’ उनले भने ।

समिट एअरले जुम्ला, हुम्ला, मुगु लगायतका पश्चिमका जिल्लामा सहुलियत उडान भर्दै आएको छ । नेपालगञ्जदेखि तारा एअरले पश्चिमका जिल्लामा हप्तामा एक दिन सहुलियत उडान भर्दै आएको छ ।

जुफाल विमानस्थल स्तरोन्नति कार्यको नब्बे प्रतिशत काम सम्पन्न भएपछि गत भदौ २३ गते परीक्षण उडानका रुपमा समिट एअरले डोल्पा उडान भरेको थियो ।


क्लिकमान्डु