८२५ जन प्रतिनिधि छान्न १९ हजार बढी मतदान केन्द्र



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लागि १० हजार ६ सय ७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गरेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० निर्वाचित हुनेछन् । यस्तै सात प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी कुल ५ सय ५० सदस्य निर्वाचित हुनेछन् ।

आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार यही कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

ती जिल्लाका सदरमुकाममा असोज २९ गते नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । यही कात्तिक ५ गते आइतबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म आ-आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलाको रूपमा निर्वाचन अयोगले ७५३ वटा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न गरिसकेको छ ।

गत असोज २९ गते ठूलो उत्साहका साथ राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बुझाइसकेका छन् ।

आयोगले राजनीतिक दललाई यही कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई पेश गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले २०७४ भदौ १४ गतेबाट निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सात प्रकारका मतपत्रको छपाइ गत असोज १७ देखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।

समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा ९० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । सम्पूर्ण मतपत्र कात्तिक ७ गतेसम्म छापिसकिने छ ।

यही कात्तिक ८ गतेबाट प्रत्यक्ष तर्फको मतपत्रहरुको छपाइ कार्य सुरु हुनेछ ।

लागि आवश्यक पर्ने व्यवस्थापकीय सहयोग रहेको व्यहोरासमेत जानकारी गराउन चाहन्छु । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ रहेका छन् ।

मतदाता शिक्षाका लागि करिब २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि हालसम्म ४ वटा अन्तर्राष्ट्रिय संघ संस्थाबाट सहभागिताका लागि आवेदन प्राप्त भएको आयोगले जनाएको छ ।


पुष्प दुलाल