विकास बैंक र लघुवित्तको समुह छुट्टिने




काठमाडौं । विकास बैंक र लघुवित्त कम्पनीको सेयर समुह बेग्लाबेग्लै हुने भएको छ । अहिलेसम्म एकै समुहमा गणना हुने परिसुचकलाई छुट्टयाएर लघुवित्तको बेग्लै समुह बनाउन लागिएको हो ।

लघुवित्तको बेग्लै समुह बनाउन आन्तरिक तयारी भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्दसिंह साउदले जानकारी दिए ।

‘अहिलेसम्म लघुवित्त र विकास बैंकको परिसुचक एउटै थियो, यसलाई छुट्टयाएउने गृहकार्य भइरहेको छ, केही दिनभित्रमा नै यो काम सकिन्छ,’ मेरोलगानी डट कमको १० बार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले भने ।

यसरी लघुवित्त र विकास बैंकको बेग्ला बेग्लै समुह भएपछि लगानीकर्तालाई यथार्थ जानकारी प्राप्त हुने साउदको भनाइ छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अबको राजनीतिक मुद्दा पनि विकास नै भएकोले आर्थिक विकास र समृद्धिमा संचारमाध्यमले पुर्याएको योगदान उत्कृष्ट रहेको बताए । आर्थिक र त्यसमा पनि खासगरेर पुँजी बजारका विषयबस्तुलाई सरल तरिकाले पाठक सामु पेश गर्न सक्नु मेरोलगानी डट कमको उत्कृष्ट र सह्रानीय काम भएको अर्थमन्त्री कार्कीको भनाइ छ ।

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले छरिएर रहेको पुँजीलाई एकिकृत गरी विकास निर्माणमा स्रोत जुटाउन पुँजी बजार उपयुक्त माध्यम भएको भन्दै सेयर सम्बन्धि सर्बसाधारणलाई जानकारी दिन मेरोलगानी डटकमले राम्रो काम गरेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक विकास र समृद्धिको लाथि आर्थिक पत्रकारिताको माध्यमबाट उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै मेरोलगानी डटकमलाई बधाइ दिए ।

कार्यक्रममा धितोपत्र दलाल ब्यवसायी संघका अध्यक्ष प्रियराज रेग्मी, इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेललगायतले पूँजी बजारको विकास र विस्तारमा मेरोलगानी डटकमले प्रभावकारी काम गर्न सकेको धारणा राखे ।

मेरोलगानी डटकमले १०औं बार्षिकोत्सबको अबसरमा सेयर लगानीकर्ताको जानकारीका लागि उपयोगी हुने तथ्यांक विश्लेषण सम्बन्धि सफ्टवर पनि सार्बजनिक गरेको छ । यस्तै मेरोलगानी डटकमको सहप्रकाशन नेपाल जर्नल डटकम पनि सुभारम्भ गरेको छ ।


क्लिकमान्डु