एक सय घर निर्माणका लागि साढे ३ करोड रुपैयाँ अनुदान



म्याग्दी । जनता आवास कार्यक्रमअन्तर्गत म्याग्दीमा यस वर्ष १०० घर निर्माणका लागि ३ करोड ५० लाख रुपैयाँ अनुदान दिइने भएको छ ।

आर्थिकरूपमा विपन्न र गरिबीको रेखामुनि रहेका दलित समुदायको भौतिक सुधार, स्वास्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयले उक्त कार्यक्रम सञ्चालनमा ल्याएकोे हो ।

जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले छनोट गरेका स्थानका विपन्न दलित समुदाय छनोट गरी प्रतिघर निर्माणका लागि ३ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको डिभिजन प्रमुख इञ्जिनियर प्रकाश अर्यालले बताए ।

मंगला गाउँपालिकाको ३ र ४ बरञ्जा–१ कुहुँ–५ अर्मन, बेनपा–२ ज्यामरुककोट, मालिका गाउँपालिका–५ देवीस्थान र छ दरवाङमा ५० घर निर्माण हुनेछ । गत वर्ष कार्यक्रम सञ्चालन भएका स्थानमा ५० घर निर्माण गर्ने कार्यक्रम छ ।

गत वर्ष बेनी नगरपालिकाको पुलाचौर, घतान, सिंगा, अर्थुङ्गे, भकिम्ली, अन्नपूर्ण गाउँपालिकाको दाना, घार, धौलागिरि गाउँपालिकाको लुलाङ, ताकम, मालिका गाउँपालिकाको ओखरबोट, रुम, रघुगंगा गाउँपालिकाको पिप्ले र भगवतीमा ८२ वटा घर निर्माणाधीन अवस्थामा छन् ।

कार्यक्रममा छनोट भएका १८ घरपरिवारसँग सम्झौता गर्न बाँकी छ । कार्यक्रममार्फत सरकारले तोकेको मापदण्डअनुसार एउटा घर बनाउन चार किस्तामा लाभग्राहीलाई अनुदान उपलब्ध गराइने समन्वय समितिका अध्यक्ष तथा पूर्व सांसद रेशमबहादुर बानियाँले बताए ।

गत वर्ष २ लाख ३४ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता भए पनि यस वर्ष अनुदान रकम थप भएको छ । समन्वय समितिको निर्णयअनुसार कार्यक्रम लागू हुने वडाका विपन्नको पहिचानका लागि घरधुरी सर्वेक्षणको काम शुरु गरिने भएको छ ।

अनुदान पाउने लाभग्र्राहीको घडेरी हुनुपर्ने र शौचालय आफूले बनाउनुपर्ने व्यवस्था छ । यसैबीच गत साउन भदौमा बाढी पहिरोबाट घरबारविहीन भएकाहरुलाई पनि सरकारले घर पुनःनिर्माणका लागि अनुदान उपलब्ध गराउने भएको छ ।

प्रजिअ कृष्णप्रसाद अधिकारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै वर्षको साउन भदौमा बाढी पहिरोका कारण घर क्षति भएकालाई अनुदान उपलब्ध गराउनका लागि सिफारिस गर्न भनेको बताए । रासस


पुष्प दुलाल