अब विद्युतीय गाडी किन्नुस्, प्राधिकरणले निर्माण गर्दैछ चार्जिङ स्टेशन



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ ।

आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया शुरु गर्न लागेको हो ।

विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ ।

पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रिया शुरु गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्राधिकरणले पहिलोचरणका काठमाडौँका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्नेछ । काठमाडौँपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेशन जडान गरिनेछ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विद्युत् खेर जाने अवस्था आउनसक्ने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।

हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण करिब ९१ प्रतिशत सम्पन्न भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्राधिकरणले राजधानीमा चल्ने साना सवारी साधन समेत विद्युतीय नै प्रयोग गर्ने कि भन्ने बारेमा छलफल गरिरहेको छ ।

गत वर्षदेखि विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ ।

प्राधिकरणले पहिलोचरणका काठमाडौँका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्नेछ । काठमाडौँपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेशन जडान गरिनेछ ।

पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिएको खण्डमा विप्रेषणबाट प्राप्त हुने रकम स्वदेशमा नै रहनसक्छ ।

‘आगामी दिनमा जसरी भए पनि विद्युतीय सवारीमा जानै पर्छ । नागरिकलाई सचेतता अपनाउन पनि प्राधिकरणले चार्जिङ स्टेशन स्थापना गर्न लागेको हो ’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

तर विद्युतीय सवारीको अवस्थामा भने नेपालको राम्रो रेकर्ड छैन । चल्दा चल्दैको ट्रली बसको कुनै संरचना पनि काठमाडौँमा छैन । जेनतेन सफा टेम्पो राजधानीमा चलिरहेको छ ।

केही समय अघि सम्पन्न नाडा अटो सोमा समेत विद्युतीय सवारीको प्रदर्शनी गरिएको थियो । नागरिक क्रमशः विद्युतीय सवारीतर्फ आकर्षित हुन थालेका छन् ।

बेलायत, फ्रान्स, नर्वे, भारतलगायतका मुलुकले सन् २०३० सम्म विद्युतीय सवारी साधन प्रयोग गर्ने रणनीति अख्तियार गरेको छ । अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, जापान, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल तथा स्पेनले पनि विद्युतीय सवारी साधनको बिक्री तथा प्रयोगमा विशेष ध्यान दिने लक्ष्य राखेका छन् ।

अन्तर्राष्ट्रिय ऊर्जा संघको प्रतिवेदनअनुसार विश्वको ९५ प्रतिशत विद्युतीय कार चीन, अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड र स्वीडेनमा बिक्री वितरण हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँमा चिनियाँ विद्युतीय बस चलाउने योजना अगाडि सारे पनि त्यसको कुनै प्रक्रिया नै शुरु हुनसकेको छैन ।

महानगरले ५ करोड रुपैयाँ रकम विद्युतीय बसका लागि छुट्ट्याइएको थियो । तर प्रक्रिया शुरु नहुँदा कुनै ठोस् प्रगति हुनसकेको छैन । रासस


पुष्प दुलाल