ओलीको जन्मथलो विकासका लागि १५ वर्षे गुरुयोजना तयार



तेह्रथुम । तेह्रथुमको आठराई क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना निर्माण गरिएको हो ।

बजारलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, खानेपानी तथा ढल व्यवस्थापन, होमस्टे निर्माणको अवधारणालगायतका योजना गुरुयोजनाको मुख्य उद्देश्यमा रहेका छन् ।

व्यवस्थित बसपार्क, संक्रान्तिबजार–खाम्लालुङ–सोबुवा देउरालीदेखि गुफापोखरी सडक निर्माण, सबै वडालाई समेट्ने गरी चक्रपथ, सिँचाइका लागि सडक क्षेत्रमा ड्रेन निर्माण गुरुयोजनामा समावेश भएको छ ।

सुक्खायाममा आकाशेपानी संकलन, विद्युत्लाइन विस्तार, प्राविधिक शिक्षालय, कृषि संकलन तथा दूध चिस्यान केन्द्र, हाटबजार क्षेत्रको व्यवस्थापनका साथै बस्ती विकास र भवन निर्माणका मापदण्ड गुरुयोजनामा रहेको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए ।

संक्रान्तिबजारको पूर्वी क्षेत्रमा रहेको याकुम्बा गढीलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । गढीमा पर्यटक विश्रामस्थलसहितको भ्यू टावर निर्माणका लागि भौतिक योजना तथा शहरी विकास शाखामा निर्णय गरी पठाइएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए ।

भौतिक विकास योजना निर्माणका लागि एडिए कन्सल्टेन्सीका विज्ञ मिलन बगाले र किरण जोशीसहितका सरोकारवाला र स्थानीयको सहभागितामा योजना तयार पारिएको हो ।

गुरुयोजनाका उद्देश्यलाई गाउँपालिकाले समेत प्राथमिकतामा राख्ने बताइएको छ । आठराई एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी ओलीको जन्मथलोसमेत हो ।


पुष्प दुलाल