मेस्सी र रोनाल्डो बिनाको विश्वकप हुनसक्ने !



रसियामा आयोजना हुने २०१८ को विश्वकप फुटबलमा छनोट अन्तिम चरणमा आइसकेको छ । छनोटको अन्तिम चरणको खेल बाँकी रहेको अवस्थामा लियोनल मेस्सीको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल विश्वकममा छनोट नहुन सक्ने सम्भावना बढेको छ ।

यी दुई खेलाडीले सन् २००८ देखि फुटबलमा एकछत्र राज गर्दै आएका छन् । विगत ९ वर्षदेखि यी दुई खेलाडीले विश्वको उत्कृष्ट खेलाडीको पुरस्कार आफ्नो पोल्टामा पर्दै आएका छन् । क्लब फुटबलका मेस्सी र रोनाल्डो सर्वाधिक सफल खेलाडी हुन् । क्लबबाट उनीहरुले सबै प्रकारका उपाधी हात परेका छन् ।

तर क्लबमा पाएको सफलता उनीहरुले राष्ट्रिय फुटबल टोलीबाट हासिल गर्न सकेका छैनन् । तर, रोनाल्डोले सन् २०१६ मा फ्रान्समा आयोजित यूरोकपको उपाधी जितेर राष्ट्र माथि केहि हदसम्म न्याय गरेका छन् ।

विश्वकप फुटबलको अन्तिम छनोट खेल बाँकी रहेको अवस्थामा मेस्सी र रोनाल्डोको टोलीलाई विश्वकपमा छनोट हुनका लागि खेल जित्नु पर्ने दबाब बढेको छ ।

मेस्सीको टोली अर्जेन्टिना भोलि बुधबार बिहान सवा पाँच बजेदेखि हुने इक्वेटरसँगको खेलको नतिजा अनुकुल नआए विश्वकपबाट बाहिरिने प्रबल सम्भावना छ । दक्षिण अमेरिकी टोली अर्जेन्टिना अन्तिम खेल अगाडि गोल भिन्नताका आधारमा ६ औं स्थानमा छ ।

१० टोली सहभागि सो महादेशबाट शीर्ष ४ टोली सिधै र ५ औं स्थानको टोलीले न्युजिल्याण्डसँग विश्वकप छनोट हुनका लागि प्लेअफ खेल्नु पर्ने हुन्छ । अन्तिम खेलमा विजयी भएमा अर्जेन्टिना प्लेअफ पर्ने निश्चित छ ।

अन्तिम दिन छनोट समूहको चौथो स्थानको कोलम्बिया र पाचौं स्थानको पेरुबीच खेल हुनेछ । कोलम्बियाको २६ अंक र पेरुको २५ अंक छ ।

अर्जेन्टिनाभन्दा धेरै गोल गरेको आधारमा पेरु अर्जेन्टिना भन्दा अगाडि छ । इक्वेटरसँग खेलमा विजयी भएमा अर्जेन्टिाको २८ अंक पुग्ने छ । कोलम्बिया र पेरुबीच खेल बराबरी वा पेरुले अर्जेन्टिनाको भन्दा कम गोल अन्तरले विजयी भएमा शीर्ष ४ भित्र रहेर विश्वकपमा छनोट हुनेछ । कोलम्बियाले जितेमा २९ अंक छ । विश्वकपका लागि अर्जेन्टिनाले प्लेअफ खेल्नु पर्ने हुन्छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलपनि विश्वकपबाट बाहिरिने सम्भावना छ । तर, अर्जेन्टिनाको तुलनामा पोर्चुगलको विश्वकम यात्रा अलिक सहज मान्न सकिन्छ । यूरोप महादेशको विश्वकप छनोट समूह ‘बी’ मा रहेको पोर्चुगल ९ खेलको समाप्तिमा २४ अंक सहित समूहको दोश्रो स्थानमा छ ।

छनोटको अन्तिम दिन पोर्चुगलले समूहमा २७ अंक सहित शीर्ष स्थानको रहेको टोली स्वीजरल्याण्डसँग भोलि बिहान ०ः३० मा खेल हुँदैछ छ । सो खेलमा विजयी भए पोर्चुगल र स्वीजरल्याण्डको समान २७-२७ अंक हुनेछ । त्यस्तो अवस्थामा गोलअन्तरका आधारमा शीर्ष टोली छनोट हुनेछ ।

पोर्चुगलले ३० गोल गरेर ४ गोल खाएको छ भने स्वीजरल्याण्डले २३ गोल गरेर ५ गोल खाएको छ । सो खेलमा विजयी भएमा समूहको शीर्ष स्थानमा रहेर पोर्चुगल विश्वकपका लागि छनोट हुनेछ ।

यस्तै, समूहको दोश्रो स्थानमा रहने टोलीले प्लेअफ खेल्न पाउने छ । समूहको तेश्रो स्थानमा रहेको टोली हंगेरीको जम्मा १० अंक भएकाले पोर्चुगलले प्लेअफका लागि स्थान सुरक्षित गरिसकेको छ ।


पुष्प दुलाल