अन्तराष्ट्रिय पोल्ट्री एक्स्पो कात्तिक १७ गतेदेखि, सयवटा विदेशी स्टल रहने



 

चितवन । नेपाल पोल्ट्री महासंघले अन्तराष्ट्रिय पोल्ट्री तथा लाइभस्टक एक्स्पो, २०१७ को तयारी तीव्र पारेको छ । एक्स्पो कात्तिक १७ गतेदेखि तीन दिनसम्म भरतपुरको औद्योगिक प्रदर्शनीस्थलमा एक्स्पो हुँदैछ ।

महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलका अनुसार एक्स्पोमा विदेशी १०० वटा र नेपाली १०० वटा कक्ष रहने छ ।

भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्सलगायत देशका व्यवसायीले कक्ष बुकिङ गरिरहेका छन् । करिब १२ देशका व्यवसायी सहभागी हुने अनुमान गरिएको सो एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित सबैखाले उत्पादनको कक्ष रहने छ ।

एक्स्पोका संयोजक एवं महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री क्षेत्रका पछिल्लो प्रविधि एक्स्पोमा प्रदर्शन गरिने बताए । उनका अनुसार कम लागतमा बढी उत्पादन दिन सक्ने प्रविधिको समेत प्रदर्शनी हुने हुँदा यहाँका व्यवसायी प्रत्यक्षरुपमा लाभान्वित हुने बताए । अहिले नेपालमा प्रयोग गरेको प्रविधिले मासु र अण्डा उत्पादन लागत बढेको भन्दै विष्टले एक्स्पोपछि कम लागतमा उत्पादन बढाउन सहज हुने बताए ।

एक्स्पोमा दाना, औषधि, ह्याचरी, खोर निर्माण गर्ने हाउजिङ कम्पनी, प्याकेजिङ कम्पनीलगायत कक्ष रहने छन् । यति ठूलो संख्यामा विदेशी सहभागी हुने नेपालको यो नै पहिलो एक्स्पो हुनेछ । सोही क्रममा प्राविधिक गोष्ठीसमेत गरिँदैछ । पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष एवं प्राविधिक गोष्ठीका संयोजक डा होमबहादुर बस्नेतका अनुसार विदेशी र स्वदेशी विज्ञले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

पछिल्लो समय विभिन्न कारणले उत्पादनमा कमी आइरहेका बेला सो एक्स्पोमा हुने गोष्ठीबाट नयाँ प्रविधिमा गएर उत्पादन बढाउन कृषकलाई सहयोग पुग्ने छ । कम लागतमा बढी उत्पादन गर्ने नयाँ प्रविधिका बारेमा ज्ञान पाउन सकिने भएकाले एक्स्पो निकै प्रभावकारी रहने विष्टको भनाइ छ ।

नेपाल पोल्ट्री महासंघका सचिव एवं नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले एक्स्पो नेपालका कृषकका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे । आवश्यक परेका प्रविधि र सामग्री सहज लिन सक्ने वातावरण एक्स्पोले गर्ने उनको भनाइ छ । आइतबार साँझसम्म विदेशी ९० वटा कक्ष बुकिङ भइसकेका छन् । रासस


पुष्प दुलाल