राष्ट्र बैंक ब्यवस्थापनलाई कर्मचारी संगठनको उर्दीः आन्दोलन गर्नुछ, हामीलाई काम नलगाउनु




काठमाडौं । राष्ट्र बैंकमा कार्यरत नेपाली काँग्रेस र एमाले निकट कर्मचारी संगठनहरुले कर्मचारीलाई कुनै पनि प्रकारको काम नलगाउन ब्यवस्थापनलाई उर्दी जारी गरेका छन् ।

राज्यको ढुकुटीबाट तलबभत्ता खाएर राज्यले अह्राएको काम गर्छु भन्दै जागिर खाएका कर्मचारीलाई राष्ट्र बैंक ब्यवस्थापनले गरेको निर्णय विरुद्ध आन्दोलन गर्नुपर्ने भन्दै कुनै पनि प्रकारको काममा नलगाउन कर्मचारी संगठनहरुले यस्तो उर्दी जारी गरेका हुन् ।

असोज १७ गते नेपाली काँग्रेस निकट कर्मचारी युनियन नेपाल वित्तीय संस्था कर्मचारी संघ र एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघले राष्ट्र बैंकका सबै विभाग, कार्यालय र महाशाखाहरुलाई पत्राचार गर्दै सम्पूर्ण कर्मचारीलाई कुनै पनि प्रकारको काममा नलगाउन निर्देशन सहितको उर्दी जारी गरेका छन् ।

नेपाल राष्ट्र बैंक ब्यवस्थापनले कर्मचारी अबकाश सम्बन्धि दोहोरो ब्यवस्था हटाएर नेपाल सरकारको सरह ५८ बर्षे उमेर हद मात्रै लागू गर्ने निर्णय गरेको थियो । यसअघि राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरुको उमेर हद ५८ बर्ष वा सेवा अवधि ३० बर्षमध्ये जुन पहिला आउँछ, त्यसैको आधारमा अबकाश दिने ब्यवस्था थियो । यस्तो दोहोरो ब्यवस्था हटाएर राष्ट्र बैंक ब्यवस्थापनले सरकारी कर्मचारी सरह एउटै ब्यवस्था (उमेर हद मात्रै) लागू गर्ने निर्णय गरेपछि काँग्रेस र एमाले निकट कर्मचारी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

लोकसेवा आयोग तथा सामान्य प्रशासन मन्त्रालय लगायतका सरोकारवाला निकायहरुले सरकारी ढुकुटीबाट तलब भत्ता खाने कर्मचारीको अबकाश नीति एउटै हुनुपर्ने अडान राख्दै आएका छन् । यस्तै राष्ट्र बैंक ब्यवस्थापनले विभिन्न समयमा गराएको अध्ययन तथा कर्मचारी प्रशिक्षण प्रतिष्ठानले गरेको ओएनएम सर्वेले पनि कर्मचारी अबकाश सम्बन्धि दोहोरो ब्यवस्था हटाउनु पर्ने सुझाव दिएको थियो । यस्तै दबाबका बीच राष्ट्र बैंकले कर्मचारी अबकाश सम्बन्धि दोहोरो ब्यवस्था हटाउने निर्णय गरेपनि कर्मचारी संगठनमा आवद्ध केही नेताहरुलाई ब्यक्तिगत फाइदा हुने कारण तत्कालको लागि दोहोरो ब्यवस्था कायमै राख्नु पर्ने भन्दै ब्यवस्थापनको निर्णय विरुद्ध गतिविधि संचालन भइरहेको बताइएको छ ।

‘यस संघ र ब्यवस्थापन बीच भएको सम्झौता कार्यान्वयन गर्न तथा कर्मचारी सेवा विनिमयमावली संशोधनको सम्बन्धमा बैंक ब्यवस्थापनले देखाएको रबैयाको विरोधमा यस संघले बाध्य भइ आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको र कार्यक्रमहरु निरन्तर रहने भएकोले यस संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरु समेत आन्दोलनमा सहभागी हुनको लागि आन्दोलन जारी रहेसम्मको लागि त्यस विभाग÷कार्यालय तथा ईकाइबाट यस संघ आवद्ध कुनै पनि कर्मचारीहरुलाई कुनै पनि प्रकारको काजमा नखटाई सहयोग गरिदिनुहुन आर्दिक अनुरोध गर्दछु,’ एमाले निकट कर्मचारी संगठन नेपाल राष्ट्र बैंक कर्मचारी संघका कार्यवाहक अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले हस्ताक्षर गरेर राष्ट्र बैंकका सबै विभाग, कार्यालय तथा ईकाइहरुलाई पठाइएको पत्रमा उल्लेख छ ।

यस्तै ब्यहोरोको पत्र सोही दिन अर्थात असोज १७ गते नै नेपाली काँग्रेस निकट कर्मचारी संघ नेपाल वित्तीय संस्था कर्मचारी संघले पनि राष्ट्र बैंकका सम्पूर्ण विभाग, कार्यालय र महाशाखाहरुलाई पठाएको छ ।

‘राष्ट्र बैंकमा कार्यरत कर्मचारी वर्गमा प्रत्यक्ष सरोकार राख्ने कर्मचारी सेवा विनियमावली संशोधन जस्तो विषयमा यस संघले आफ्नो स्पष्ट धारणा राखेको र सोही सन्दर्भमा यस संघले पटक पटक जारी गरेका विज्ञप्ति, ध्यानाकर्षण तथा अल्टिमेटमको समेत बेवास्ता गर्दै यस संघको सहमति बेगर एक पक्षीय ढंगले ब्यवस्थापन अघि बढेको विरोधमा दबाबमुलक कार्यक्रम मिति २०७४/०५/२५ देखि शुरु भइ निरन्तर रहेको ब्यहोरा अबगत गराउँदै यस संघद्धारा संचालित दबाबमुलक कार्यक्रम नटुंगिएसम्म यस संघसँग सम्बन्धित पदाधिकारी, सक्रिय सदस्य, एबम् साधारण सदस्यहरुको दबाबमुलक कार्यक्रम अवधिभर सक्रिय सहभागिता हुने भएकोले सो अबधिभर कुनै पनि आन्तरिक काजमा नखटाउनु हुन अनुरोध गर्दछौं,’ काग्रेस निकट कर्मचारी संघले लेखेको पत्रमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु