विन्ध्यवासिनी बचत तथा ऋण सहकारीले ल्यायो एटिएम, नेपालमै पहिलो भएको दावी



बनेपा । विभिन्न वणिज्य बैंक तथा विकास बैंक र अन्य बैंक तथा वित्तिय संस्थाले ग्राहकको सुविधाका लागि एटिएम मेशिन सञ्चालन गरेको र कार्ड मार्फत सेवा दिएको त नौलो विषय थिएन । तर सहकारीले पनि एटिएम कार्ड मार्फत ग्राहकलाई सेवा दिन सुरु गरिएको छ ।

काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले आजदेखि एटिएम कार्ड संचालनमा ल्याएको छ । पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गरे । ।

सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि रकम निकाल्न सक्नेछन् । सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा सचिव मैनालीले सहकारी संस्थालाई औद्योगिक कार्यमा लागेर अर्थतन्त्रमा योगदान गर्न आग्रह गरे ।

विसं २०५० सालमा स्थापना भएको सो सहकारीले रु १ अर्ब ४२ करोड पाँच लाख बचत गरेको छ भने रु १ अर्ब ५९ करोड २३ लाख ऋण लगानी गरेको छ । सहकारीमा ३० हजार सदस्य आबद्ध छन् । यस बाहेक अन्य केही सहकारी संस्था पनि एटिएम कार्ड चलाउने तयारीमा छन् ।


क्लिकमान्डु