दशैंपछि झन् आकाशियो तरकारीको मूल्य, कुनमा कति बढ्यो ?



काठमाडौं । हरेक वर्ष चाडवाड नजिक आउनासाथ तरकारी तथा फलफूलहरुको मूल्य ह्वातै बढ्छ । यो वर्ष पनि चाडवाडको मुखैमा तरकारीको मूल्यले आकाश चुमेको छ ।

दशैँ सुरु हुनु अघिसम्म तरकारी तथा फलफूलको मूल्यमा राहत पाएका उपभोक्ताले दशैँभरी नै महङगीको मार खेप्नु परेको छ ।

दशैँको फुलपातीसम्म गाँजर, बोडी, मूला, खुर्सानी, घिउ सिमी, भिण्डी, भेडे खुर्सानी, हरियो लसुन, सुकेको लसुन र हरियो धनियाको मूल्यले आकाश नै चुमेको पाइएको छ ।

दशैँताका सबैभन्दा धेरै हरियो लसुनमा मूल्य वृद्धि भएको देखियो । फूलपातीको दिनसम्म १ सय ३५ रुपैयाँमा बिक्री भएको हरियो लसुन टिकाको दिन यता १ सय ९५ रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

टिकाको दिनदेखि खुद्रा बजारमा १ सय रुपैयाँदेखि १ सय १० रुपैयाँसम्ममा विक्री भैरहेको गोलभेडाको मूल्य कालिमाटी बजारको मूल्यसूचीमा भने प्रतिकेजी ४८ रुपैयाँदेखि ५८ रुपैयाँसम्ममा विक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकाश समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले बताए ।

‘बाहिर खुद्रा पसलहरुमा गोलभेडा लगायत तरकारीको मूल्यमा दशैँको बेला केही परिवर्तन देखिए पनि कालिमाटीको तरकारी मूल्यसूचीमा खासै परिवर्तन आएको छैन्’ पौडेलले क्लिकमाण्डूसँग भने ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको मूल्यसूची अनुसार फूलपातीको दिनसम्म ६२ रुपैयाँ केजी विक्री भइरहेको गाँजर टिकाको दिनयता प्रतिकेजी ७८ रुपैयाँमा पुगेको छ । त्यस्तै २२ रुपैयाँ प्रतिकेजी रहेको मुला टिकापछि २८ रुपैयाँ पुगेको छ ।

दशैँताका बोडीको मूल्यमा ३७ रुपैयाँ वृद्धि भएको छ । फूलपातीको दिनसम्म ४८ रुपैयाँमा विक्री भएको बोडी टिकाको दिन यता ८५ रुपैयाँ किलो विक्री हुन थालेको हो ।

घिउ सिमी र हरियो खुर्सानीको मूलयमा २० रुपैयाँ वृद्धि भएको छ । किलोको ४२ रुपैयाँ रहेको घिउ सिमी पुर्णिमाको दिनसम्म आइपुग्दा ६२ रुपैयाँ पुगेको छ । त्यस्तै, ५८ रुपैयाँ प्रतिकेजी विक्री भएको हरियो खुर्सानी ७८ रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यसैगरी, हरियो फर्सिमा १६ रुपैयाँ बढेको छ । किलोको २२ रुपैयाँ रहेको हरियो फर्सि पूर्णिमाको दिनसम्म आइपुग्दा ३८ रुपैयाँ पुगेको छ । यस्तै भेडे खुर्सानीमा १८ रुपैयाँ बढेको छ । फूलपातीको अघिल्लो दिनसम्म ९८ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको भेडे खुर्सानीको मूल्य १ सय १६ रुपैयाँ पुगेको हो ।

हरियो धनिया र सुकेको लसुनको मूलयमा भने १० रुपैयाँ बढेको छ । ९५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको हरियो धनिया पूर्णिमाको दिनसम्म १ सय ५ रुपैयाँमा विक्री भएको थियो । उता सुकेको लसुन १ सय ८५ रुपैयाँ प्रतिकेजी बाट बढेर १ सय ९५ रुपैयाँमामा विक्री भइरहेको छ ।


पुष्प दुलाल