समानुपातिक निर्वाचन प्रणालीका लागि झन्डै २ करोड मतपत्र मंगलबारदेखि छापिँदै



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ मंगलबारदेखि शुरु गर्ने भएको छ ।

मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मतपत्रको छपाइ कडा सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमा हुनेछ । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् ।

निर्वाचनका लागि मतदाताको संख्या यकिन भइनसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै १ करोड ८० लाख मतपत्र छापिनेछ । आयोगले मतदाताको संख्या केही दिनभित्रै यकिन हुने जनाएको छ ।

समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७, प्रदेश नं २ र ३ मा ८६–८६, प्रदेश नं ४ र ६ मा ८२–८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने छन् ।

प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागितानुसार आयोगले सात प्रकारका मतपत्रको व्यवस्थापन गर्नेछ । समानुपातिकतर्फको मतपत्रको छपाइ आगामी कात्तिक ८ गतेभित्र पूरा हुनेछ ।

त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्रको छपाइको काम शुरु गरिने आयोगको कार्यतालिका छ ।

स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले आगामी निर्वाचनमा मतदातालाई सहज हुने छरितो तथा मतदातामैत्री मतपत्रको ढाँचा तयार पारेर स्वीकृतसमेत गरिसकेको प्रवक्ता ढकालले जानकारी दिए । मतपत्रका लागि आयोगले ६०० टन कागजको व्यवस्थापनसमेत गरिसकेको जनाइएको छ ।

आगामी निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन, तालीम, प्रशिक्षण र खटनपटनलगायत कार्यलाई आयोगले तीव्रता दिएको छ । आयोग निर्वाचनसँग सम्बन्धित नियमावली र निर्देशिका तर्जुमाको अन्तिम तयारीमा जुटेको छ । आगामी निर्वाचनमा सुरक्षा फौजबाहेक दुई लाखको हाराहारीमा जनशक्ति परिचालन हुने जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलसँग घनीभूत रुपमा छलफल गर्ने कार्ययोजना छ । मंसिरमा हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक प्रणालीबाट २२९ जना चयन हुनेछन् । रासस


पुष्प दुलाल