दशैँको बेला खाना पकाउने ग्यासको अभाव, उपभोक्ता दाउराको खोजीमा



फाइल

कञ्चनपुर । दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ ।

खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् ।

‘ग्यास सकिएपछि बजारका अधिकांश पसलमा धाउँदा पनि पाउन सकेन, ग्यास नपाइएपछि दाउरा खोज्दै छु,’ स्थानीयवासी विष्णु चौधरीले भने।

ग्यासको अभावमा निकै मर्कामा परेको उनले बताए ।

झलारी बजारमा ग्यास व्यवसाय गर्दै आएका मदनराज भट्टले ग्यास कम्पनीबाटै थोरै ग्यासका सिलिण्डर आउँदा उपभोक्ताले हैरानी खेप्नु परेको बताए ।

‘ग्यासको माग धेरै छ, तीस वटा मात्रै ग्यासका सिलिण्डर कम्पनीबाट आएपछि सबैलाई पुर्याउन सकिएको छैन,’ उनले भने ।

उनकै जस्तै जिल्लाका सबै ग्यास व्यवसायीसँग ग्यासका सिलिण्डर छैनन् ।

ग्यास व्यवसायीका अनुसार भारतको उत्तर प्रदेशस्थित बरौनी डिपोबाट एक ट्याङ्कर ग्यास बुलेट मात्रै आएको छ । जसमा एक हजार २०० सिलिण्डरमा भर्न पुग्ने हुन्छ । एक हजार २०० सिलिण्डरले दशैँको माग धान्न नसक्ने व्यवसायीको भनाइ छ ।

बरौनी रिफाइनरी सेन्टरमा सरसफाइ भइरहेकाले दुई सातासम्म ग्यास नपाइने भएको छ । अरू वर्ष सेन्टरमा हिउँदका बेला सरसफाइ हुँदै आएकोमा यस वर्ष दशैँकै बेला सरसफाइ हुन थालेपछि ग्यास आपूर्तिमा समस्या देखिएको हो ।


क्लिकमान्डु