चितवनमा ७ दिनमा ३ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो



चितवन । नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब ३ अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ ।

असोज १ गतेबाट बैंकिङ कारोबार भएका सात दिनमा सो रकम बितरण गरिएको हो । बैंकका प्रबन्धक हेमराज मरहठ्ठाका अनुसार नोटको अभाव नभएकाले मागे जति रकम वितरण गरिएको बताए ।

गत वर्षहरुमा दशैँको बेला नोटको अभाव हुने गर्दथ्यो । नोटकोषको जिम्मेवारी भएकाले जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाले यसै शाखाबाट नोट लैजाने गर्दछन् ।

मरहठ्ठाका अनुसार जिल्लाका अधिकांश सरकारी र गैरसरकारी कार्यालयका खाता यसै बैंकमा भएकाले उनीहरुमार्फत पनि ठूलो मात्रामा रकम बैंकबाट बाहिरिने गर्दछ ।

जिल्लामा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले वाणिज्य बैंकबाट नोट लैजाने गर्दछन् । चाडपर्वको समयमा शिक्षकको तीन महिनाको तलबसहित दशैँ भत्ता र अन्य कर्मचारीको दशैँ भत्ता, तलब लगायतका सुविधा दिने हुँदा धेरै रकम एकै साथ बैंकबाट बाहिरिने गर्दछ ।

यसैगरी सो शाखाले यही अवधिमा १४ करोड रुपैयाँ नयाँ नोट वितरण गरेको छ । जिल्लामा यही असोज २ गतेदेखि नयाँ नोट वितरण शुरु गरिएको थियो । मरहठ्ठाले यस वर्ष पर्याप्त मात्रामा नयाँ नोट वितरण गरिएको जानकारी दिए ।

बैंकमा आउने कसैलाई पनि रित्तो हात नपठाइएको उहाँको भनाइ छ । गत वर्ष चितवनमा एक करोड ५० लाख रुपैयाँको मात्र नयाँ नोट आएपछि सर्वसाधरणले सहज रुपमा नयाँ नोट पाएका थिएनन् । तर यसपटक आवश्यक मात्रामा नयाँ नोट भित्रिएपछि ग्राहकले सहज रुपमा नयाँ नोट पाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका शाखा नारायणगढ, टाँडी, पर्साढाप, नवलपरासीको गैँडाकोट र कावासोतीबाट नयाँ नोट वितरण गरिएको थियो । बैंकले एक जनालाई अधिकतम १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट दिइएको मरहठ्ठाले जानकारी दिए । भरतपुर शाखाले दैनिक ७०० जनालाई नयाँ नोट वितरण गरिएको जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सय, ५०, २०, १० र ५ रुपैयाँका नयाँ नोट वितरण गरेको हो ।


क्लिकमान्डु