डिजिटल कारोबार गर्ने पिओएसको बहुमत सेयर प्रभु समूहले किन्यो



काठमाडौं । व्यावसायिक घराना प्रभु समूहले प्वाइन्ट अफ सेल (पीओएस) मेशिनमार्फत क्यासलेस कारोबार गर्ने भएको छ । २८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्डको प्रयोग गरेर बिना नगद पैसाको कारोबार गर्न सकिन्छ ।

व्यापारिक केन्द्रहरुमा राखिएका यी मेशिनहरु ग्रामिणतहसम्म फैलाउने गृहकार्य भइरहेको छ । हाल यो कम्पनीको बहुमत सेयर प्रभु ग्रुपले लिएको छ भने कम्पनीको महाप्रबन्धकमा प्रभु ग्रुपको तर्फबाट राजगोपाल राजभण्डारी नियुक्त भएका छन् ।

हालसम्म नेपालमा ३ हजार ५ सय वटा पीओएस मेशिन संचालनमा रहेको र २ हजार वटा मेसिन २०७४ सालभित्र थपिने क्रममा रहेको प्रभु ग्रुपले जनाएको छ ।

वित्तीय पहुँच विस्तार गर्नका लागि पीओएस मेसिनको प्रयोगलाई प्रभुले विभिन्न ग्रामिण तहसम्म पु¥याउन होमवर्क गरेको छ । नेपालमा रहेका पीओएस मेसिनहरुको प्रयोग प्रायः विदेशीहरुले नै गर्ने गरेका छन् । अब भने स्वदेशमै यसको प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ ।

यो मेसिन भित्रिएको लामो समय भइसक्दा पनि नेपालमा क्यासलेस ट्रान्जेक्सनको विकास तिब्र गतिमा हुन सकेको छैन । किनमेल गर्दा नगद नै बोकेर जाने नेपालीहरुलाई हातमा नगद नहुँदा बैंकमा भएको रकम सिधै क्रेडिट तथा डेबिट कार्डहरुबाट खर्च गर्ने बानीको विकास हुनेछ ।

के हो पिओएस कार्ड मेशिन ?

पिओएस मेसीन क्यासलेस कारोबामर गर्ने माध्यम हो । जसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् ।

दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ ।

साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । जसको प्रयोग समुन्नत मुलुकहरुमा अत्याधिक हुने गर्दछ । यस किसिमको कारोबार बढ्दै गयो भने राष्ट्र बैंकलाई नोट छापीरहनु पर्दैन । नोट छाप्दा विदेशीने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्णरुपमा कार्यान्वयनमा आउने बताइएको छ ।


पुष्प दुलाल