दशैं मान्न काठमाडौं आउनेलाई सस्तोमै प्लेन टिकट, कहाँबाट काठमाडौं आउन कति भाडा ?



काठमाडौं । बसमा होस् वा हवाइजहाजमा दशैंमा काठमाडौंबाट बाहिर जानका लागि टिकट पाउनै मुस्किल छ । बढी पैसा तिरे पनि टिकट पाइन्न ।

तर दशैं मान्न काठमाडौं आउँदै हुनुहुन्छ भने खुसीको खबर छ । एयरलाइन्स कम्पनीहले जहाजको टिकट सस्तोमै दिइरहेका छन् । एयरलाइन्स कम्पनीहरुले खाली सिट उडान भरिरहेकोले सस्तोमै काठमाडौं आउने टिकट बिक्री गरेका हुन् ।

काठमाडौंमा धेरैले दशैं नमाउने भएकोले पनि काठमाडौं आउनको लागि एयरलाइन्स कम्पनीहरु तानातान गर्दै सस्तोमा हवाई यात्रुलाई टिकट दिइरहेका छन् । विशेषगरी फुलपाती, अष्टमी र नवमीको दिनमा काठमाडौं आउने यात्रु प्रायः शुन्य हुने गरेको छ ।

जसका कारण एयरलाइन्स कम्पनीहरुले सवैभन्दा सस्तो टिकट दिइरहेका छन् । अष्टमी तथा नवमीमा विराटनगरबाट ३ हजार रुपैयाँमै काठमाडौं आउन पाइन्छ । तर जुन ‘नन रिफन्डेवल’ टिकट हो । यदि काठमाडौंबाट अहिले विराटनगर जानु पर्दा ७१ सय रुपैयाँमा पनि टिकट पाइने छैन ।

काठमाडौंबाट भद्रपुर जानका लागि ८६ सय रुपैयाँमा पनि पाइदैन । तर भद्रपुरबाट काठमाडौं आउनका लागि भने २८ सय रुपैयाँमा टिकट फालाफाल पाइन्छ ।

त्यस्तैगरी धनगढीबाट काठमाडौं आउन पनि अहिले सस्तोमा टिकट पाइन्छ । काठमाडौंबाट धनगढी जानका लागि अहिले १२ हजार १ सय रुपैयाँ भाडा रहेको छ । तर धनगढीबाट काठमाडौं भने अहिले नवमीको दिनसम्म ३७ सय रुपैयाँमात्रै रहेको छ ।

भैरहवा जानको लागि ५९ सय रुपैयाँमा पनि सिट पाइँदैन् । तर भैरहवाबाट काठमाडौै आउन भने २८ सय रुपैयाँ मात्रै रहेको छ । त्यस्तैगरी नेपालगन्जबाट काठमाडौं आउन ३२ सय रुपैयाँमात्रै रहेको छ ।

तर काठमाडौंबाट भने ९ हजार ४ सय रुपैयाँ पर्दछ । यसैबीच पोखराबाट काठमाडौं आउनलाई भने दशैंमा पनि टिकट पाइने छैन । पर्यटकिय मुख्य सिजन भएकोले पोखराबाट काठमाडौं आउनको लागि भने अष्टमी तथा नवमीमा पनि टिकट पाइँदैन ।


क्लिकमान्डु