चिरिबाबुले पुरा गरे चुनाबी एजेण्डाः ललितपुरमा थपियो साझा बस



काठमाडौं । साझा यातायातले सोमबारदेखि ललितपुरको बुङमतिदेखि काठमाडौंको नारायणस्थानसम्म बस संचालन गर्ने भएको छ । कार्यालय समयमा बुङमतिदेखि नाराणस्थानसम्म साझाले एउटा बस संचालन गर्ने भएको हो ।

आइतबार ललितपुरमा आयोजित ललितपुर महानगर क्षेत्रमा साझा बस संचालनर्थ सेयर रकम हस्तान्तरण तथा सेयर प्रमाणपत्र आदान प्रदान कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले भोलिदेखि बुङमतिदेखि नाराणस्थानसम्म कार्यालय समयमा बस संचालन गर्ने बताए ।

‘निर्वाचनको समयमा हामीले नगरबासीसँग मत माग्दा सार्वजनिक यातायातमा सुधार गर्ने भनेका थियौं, आज साझा यातायातसँग भएको सम्झौता त्यहि प्रतिबद्धता पूरा गर्ने कामको सूरुवात हो,’ महर्जनले भने ।

‘ललितपुर महानगरपालिकाले उपलब्ध गराएको रकमबाट बस खरिद गरेर संचालन गर्न ४ महिनाभन्दा धेरै समय लाग्नसक्छ, त्यसैले महानगरपालिको सहयोगलाई मध्यनजर गरेर भोलिदेखि नै एउटा बस संचालन गर्ने भएका हौं,’ दिक्षितले भने ।

विश्वका धेरै देशमा सार्वजनिक यातायात सरकारको अनुदानबाट संचालन हुने गरेका छन् । तर, नेपालका सार्वजनिक यातायातले केन्द्रिय सरकारबाट अनुदान नपाईरहेको अवस्थानमा स्थानीय तहबाट अनुदान पाउँनुलाई ठूलो उपलब्धीको रुपमा लिनु पर्ने दिक्षितले बताए ।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले जनतासँग गरिएको एउटा प्रतिबद्धता पूरा भएको बताएका छन् ।

‘निर्वाचनको समयमा हामीले नगरबासीसँग मत माग्दा सार्वजनिक यातायातमा सुधार गर्ने भनेका थियौं, आज साझा यातायातसँग भएको सम्झौता त्यहि प्रतिबद्धता पूरा गर्ने कामको सूरुवात हो,’ महर्जनले भने ।

यस्तै, ललितपुर महानगरपालिकाको उपमेयर गिता सत्यालले साझाको बस संचालन पछि ललितपुर बासी लाभान्वित हुने बताइन् ।

‘ललिपुर बासी सार्वजनिक यातायातमा निकै कष्ठपूर्ण यातायात गर्न बाध्य छन्, साझा यातायातको सेवा विस्तारसँग ललितपुरको सार्वजनिक यातायात सुधारको दिशा तर्फ जाने छ,’ सत्यालले भनिन् ।

पहिलो चरणमा साझा यातायातले बुङमतिदेखि नारायस्थानसम्म बस संचालन गर्ने भएको छ । अब छिट्टै छिमेकी नगरपालिकाको सहकार्यमा गोदावरी र हरिसिद्धिदेखि नारायणस्थानसम्म बस संचालनका लागि पहल गर्ने उपमेयर सत्यालले प्रतिबद्धता जाहेर गरिन् ।

महानगरले किन्यो साझाको १ करोडको सेयर

लतितपुर महानगरपालिकाले साझा यातायातको करोड रुपैयाँ बराबरको सेयर खरिद गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले साझा यातायातको १ करोड रुपैयाँ बराबरको सेयर खरिद गरेको हो ।

गत असार ३० गते महानगरपालिका र साझा यातायातबीच १ करोड रुपैयाँ बराबरको सेयर खरिद गर्ने सम्झौताको महानगरपालिकाले जानकारी दिएको छ ।

सोहि सम्झौता अनुरुप आज महानगपालिकाले १ करोड रुपैयाँको चेक हस्तान्तरण र साझाबाट सेयर धनीको प्रमाणपत्र आदानप्रदान गरिएको हो ।

लतिपुर महानगरपालिकाको १ करोड रुपैयाँ बराबरको सेयरसहित साझा यातायातमा स्थानिय तहको १६ करोड रुपैयाँको सेयर लगानी भएको छ ।

यस अघि काठमाडौं महानगरपालिकाले साझा यातायातको १५ करोड रुपैयाँ बराबरको सेयर खरिद गरिसकेको छ । काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँमध्येबाट १० करोड रुपैयाँ बराबरको सेयरबाट साझाले बस खरिद गरेर संचालन गरिसकेको छ ।

गत असार १३ गते काठमाडौं महानगरपालिकाले खरिद गरेको ५ करोड रुपैयाँ र ललितपुर महानगरपालिकाको १ करोड रुपैयाँको सेयरबाट २० वटा नयाँ बस खरिद गर्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

हालसम्म साझाका ४४ वटा बस संचालनमा रहेका छन् ।


पुष्प दुलाल