दशैं लागेपछि बढ्यो तरकारीको भाउ, कुन सब्जीको मूल्य कति छ ?




काठमाडौं । असोज सुरु भएदेखि नै तरकारीको मूल्य वृद्धी हुन थालेको छ । कालिमाटीमा अहिले गोलभेडा, प्याज, काउली, गाजर, काक्रो, घिउ सिमी, लौका, भटमासकोसा, धनिया, हरियो लसुन जस्ता तरकारीहरुमा मूल्य वृद्धी भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असोज ६ गने (आज) सार्वजनिक गरेको मूलयसुची अनुसार गोलभेडा, धनिया र लौकाको मूल्य सबैभन्दा धेरै वृद्धी भएको हो ।

भदौसम्म ४७ रुपैयाँ प्रतिकेजीको दरमा विक्री भइरहेको ठूलो गोलभेडा आजको मूल्यसुची अनुसार ६२ रुपैयाँ पुगेको छ । उता सानो गोलभेडामा भने ३२ रुपैयाँ वृद्धी भएको छ । भदौसम्म ३८ रुपैयाँ प्रतिकेजी रहेको सानो गोलभेडा मूल्य बढेर ७० रुपैयाँमा विक्री भैरहेको छ ।

भदौमा १ सय १५ रुपैयाँ प्रतिकेजी पर्ने धनिया आज २ सय २५ रुपैयाँमा विक्री हुँदैछ । सस्तो मानिने लौकाको मूल्य पनि अहिले निकै आकाशिएको छ । भदौमा २९ रुपैयाँमा विक्री भैरहेको लौका अहिले ४२ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ ।

भदौसम्म ६३ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको गाजर आज ७२ रुपैयाँमा कालिमाटीका बजारमा विक्री भइरहेको छ । स्थानीय काउलीको मूल्यमा पनि केही वृद्धी भएको छ । भदौमा ७८ रुपैयाँमा विक्री भएको स्थानीय काउली अहिले ८२ रुपैयाँ प्रतिकेजीको दरमा विक्री भइरहेको छ । सुकेको प्याज ३९ रुपैयाँ प्रतिकेजीबाट बढेर ४१ रुपैयाँ पुगेको छ ।

बजारमै भदौमा प्रतिकेजी ३९ रुपैयाँमा विक्री भएको घिउसिमी आजभोलि ४२ रुपैयाँ पुगेको छ । भटमासकोसामा पनि मूल्य वृद्धी भएको छ । एक हप्ता अघि ४८ रुपैयाँ प्रतिकेजी विक्री भएको भटमासकोसा अहिले प्रतिकेजी ५५ रुपैयाँ पुगेको छ ।

केही दिन अघि कालिमाटीमा १९ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको स्कूस अहिले २२ रुपैयाँ प्रतिकेजीको दरले विक्री भइरहेको छ । कागती किन्दा भदौसम्ममा १ सय गोटाको ५ सय ७५ रुपैयाँ पर्ने गर्थ्यो । आज १ सय गोटा कागतीको मूल्य ७ सय २५ रुपैयाँ पुगेको छ ।

काक्रो अहिले प्रतिकेजी ५२ रुपैयाँ पुगेको छ । भदौमा यसको मूल्य प्रतिकेजी ४८ रुपैयाँ थियो । भेडे खुर्सानी भदौमा प्रतिकेजी ८८ रुपैयाँमा विक्री भएको थियो भने अहिले प्रतिकेजी १ सय ५ रुपैयाँ पुगेको छ । १ सय ५ रुपैयाँको हरियो लसुन १ सय २५ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । यसै मूल्य दर अनुसार उपभोक्ता तरकारी खरिद गर्न बाध्य भइरहेका छन् ।

आलु, बोडी, पाकेको फर्सी, भिण्डी र हरियो प्याजको मूल्य भने भदौ र असोजमा बराबर नै रहेको छ । रातो आलु प्रतिकेजी ३१ रुपैयाँ, सेतो आलु प्रतिकेजी २९ रुपैयाँ रहेको छ । बोडी प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । पाकेको फर्सी प्रतिकेजी ४८ रुपैयाँमा विक्री भैरहेको छ । भिण्डी प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । हरियो प्याज १ सय ५ रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले बताए ।


क्लिकमान्डु