अप्टिकल फाइबर आयोजनामा ढिलाई भएको टेलिकम प्रबन्ध निर्देशकको स्वीकारोक्ति



काठमाडौं। नेपाल टेलिकमले मध्य पहाही क्षेत्रमा अप्टिकल फाइबर राख्ने आयोजनामा ढिलाई भएको स्वीकार गरेको छ । टेलिकम शुक्रबार पत्रकार सम्मेलन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम उपयोग गरेर सम्पन्न गरिने सो आयोजना कम्पनीको प्रकृयागत समस्याहरुका कारण ढिलाई भएको जानकारी दिएको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनि राजभण्डारीले आफ्नो पहिलो वर्षको कार्यकालको समिक्षा गर्दै टेलिकमको प्रकृयागत कारणहरुले समयमा नै सो आयोजनाको काम अगाडि बढ्न नसकेको स्वीकार गरिन् ।

विगत १ वर्षको आफ्नो उपलब्धी सार्वजनिक गर्दै उनले वृहत साइट सर्भे सम्पन्न गरिसकेको जानकारी दिईन् ।

‘हाम्रो आफ्नै प्रकृया छ त्यसले गर्दा ढिलाई भएको हो । पुन बोलपत्रहरु गर्नुपर्ने हुँदा थप समय लाग्यो,’ प्रबन्ध निर्देशक राजभण्डारीले भनिन् ।

टेलिकमले पुननिर्माण गर्ने भनेको धरहरा बनाउनबाट कम्पनी पछि नहटेको भन्दै धरहराको लागि छुट्याएको १ अर्ब रुपैयाँ दिन कम्पनी प्रतिबद्ध भएको जानकारी दिएको छ ।

हामीले धरहरा बनाउन हात उठाएका छैनौं, र हामी अझै प्रतिबद्ध छौं । तर हाम्रो योजना र पुर्ननिर्माणको योजना मिलेन्, उनले दाबी गरिन् ।

प्रबन्ध निर्देशक राजभण्डारीकाअनुसार ७० प्रतिशत खुला क्षेत्र हुनुपर्ने प्राबधानका कारण आफैँले बनाउने योजनामा समस्या आएको हो ।
कम्पनीले सबैभन्दा पहिले फोरजी संचालन गरेर पनि पछि पर्नुको कारण बारे सोधिएको एक प्रश्नमा उनले सेवा बिस्तारमा कमजोर भएको स्वीकार गरिन् ।

‘फोरजी बिस्तारमा हामी कमजोर भएको हौं । तर हामी आफ्नै योजना अनुसार नै अगाडि बढिरहेका छौं,’ उनले भनिन् ।

राजभण्डारीले आफू समग्ररुपमा एक वर्षको अवधिमा सफल भएको र विभिन्न चुनौतीहरुका बाबजूद पनि अगाडि बढिरहेको बताईन् ।

विगत एक वर्षमा कम्पनीले गरेको विभिन्न कामहरुको बारेमा उनले जानकारी दिईन् ।


क्लिकमान्डु