४८ स्थानको नतिजा आयो, काँग्रेस पहिलो, दोस्रोको लागि तीन दल भिड्दै



काठमाडौं । दुई नम्बर प्रदेशमा सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । कुल १३६ स्थानीय तहमध्ये हालसम्म ४८ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानमा नेकपा(माओवादी केन्द्र) रहेको छ ।

काँग्रेसले ६ नगरपालिका र ९ गाँउपालिका गरी कुल १५ स्थानमा विजयी भएको छ । दोस्रो स्थानमा रहेको माओवादीले ५ नगरपालिका र ५ गाँउपालिका गरी १० स्थानमा विजयी भएको छ ।

नेकपा(एमाले)को गणित तराई नराम्ररी खस्किएको छ । उसले हालसम्म एक नगरपालिका र ४ गाँउपालिकामा मात्रै जित्न सफल भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले ७ नगर र २ गाँउपालिका गरि ९ स्थानमा जित निकाल्दा संघीय समाजवादी फोरमले १ नगरपालिका र ६ गाँउपालिका जीत निकालेको छ ।

फोरम लोकतान्त्रिकले १ नगरपालिका र १ गाँउपालिकामा जीत निकाल्दा अन्य पार्टीले १ नगरपालिकामा जीत हासिल गरेको छ ।

पछिल्लो अवस्थामा काँग्रेसले २४ स्थानमा अग्रता लिइरहेको छ । एमाले १२ स्थान, माओवादीले १६, राजपा १३ , संघीय समाजवादी फोरमले १० र लोकतान्त्रिक फोरमले १ स्थानमा अग्रता लिएका छन् ।

दोस्रो पार्टी को हुने भन्नेमा माओवादी, राजपा र संघीय समाजवादी फोरमबीच तिवै प्रतिस्पर्धा देखिएको छ । देशभर नै पहिलो भएको एमाले भने हालसम्मकै अवस्था रहे पाँचौ स्थानमा पुग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु