धुलोमुक्त ललितपुर बनाउन सडक पखाल्दै चिरिबाबु, फोहोर गाडीलाई प्रबेश निषेध !



काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि सडक पखाल्ने भएको छ । महानगरपालिकाले पुल्चोकदेखि मंगलबजारसम्मको सडक पखाल्ने भएको हो ।

महानगरका प्रवक्त राजु महर्जनले ललितपुरको सडकलाई धुलोरहित बनाउनका लागि सडक पखाल्न लागिएको जानकारी दिए ।

‘सडक पखाल्ने काम बिहान ४ बजेदेखि हुन्छ, पुलचोकदेखि मंगलबजारसम्मको सडक २ वटा जेट (सडक पखाल्ने गाडी) बाट सडक पखालिन्छ,’ महर्जनले क्लिकमाण्डूसँग भने ।

मेलम्ची खानेपानीको पाइपलाईन बिछ्याउने क्रममा सडक भत्काउने परेकाले धूलोका कारण उपत्यका बासीको जनजीवन निकै कष्टकर बन्दै गएको छ । नगरपालिकाको सो निर्णयले ललितपुरबासीले भने केहि राहत पाउने महानगरको विश्वास छ ।

मेयर चिरिबाबु महर्जन

‘जनशक्ति र साधनको कमि भएकाले अहिले पुलचोकदेखि मंगलबजारसम्मको सडकबाट पखाल्न लागिएको हो, जनशक्ति र साधन प्रयाप्त मात्रामा हुने हो भने महानगरका सबै सडक पखाल्न सक्ने थियौं,’ उनले भने ।

अहिले महानगरपालिकामा २९ वटा वडा छ । पहिला २२ वटा वडा हुँदा भएकै जनशक्ति र साधनले काम चलाउनु परेको उनको भनाई छ ।

बालुवा र गिटी बोक्ने गाडी पखालेर मात्रै महानगरभित्र प्रवेश

ललितपुर महानगरपालिकाले बालुवा र गिटीको गाडी पखालेर महानगरपालिका भित्र छिराउन थालेको छ । नख्खु खोलाबाट बालुवा र गिट्टी बोक्ने गाडी पखालेर महानगरपालिका भित्र छिराउन थालेको हो ।

गत आइतबारदेखि नख्खु खोलाबाट बालुवा र गिटी बोक्ने गाडी पखालेर मात्र ललितपुर महानगरपालिका भित्र प्रवेश गराउन थालिएको प्रवक्ता महर्जनले जानकारी दिए ।

‘बालुवा र गिटी बोक्ने गाडीको कारण महानगरपालिकाभित्र धूलो छिराउने गरेको पाइयो, धूलो नियन्त्रणका लागि गाडी पखाल्न थालिएको हो,’ उनले भने ।


पुष्प दुलाल